काँकडभिट्टा-पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिन थालेका छन् । भारतीय अवरोध हटेपछि तेस्रो देशका पर्यटकले नेपाल प्रवेशको अवसर पाएका हुन् । अहिले काँकडभिट्टाबाट फाट्टफुट्ट तेस्रो देशका पर्यटक आइरहेका छन् ।
कोरोना संक्रमणपछि भारतीय अध्यागमन कार्यालयले तेस्रो देशका नागरिकलाई भिसा दिन बन्द गरेको थियो । पर्यटक आवागमनमा भएको भारतीय अवरोधले नेपाली पर्यटन व्यवसायी संकटमा परेका थिए ।
नाका सहज भएसँगै १ अगष्टदेखि तेस्रो मुलुकका पर्यटकले काँकरभिट्टा नाका प्रयोग गर्न थालेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले फाट्टफुट्ट पर्यटक भित्रिरहेको बताए ।
नाका खुलेयता बंगलादेशका दुई, बेलायतका एक, अमेरिकाका तीन, स्वीजरल्याण्डका चार, भुटानका १७ जना पर्यटक नेपाल प्रवेश गरेको कार्यालयले जनाएको छ ।
नर्वेका नागरिक दुई, जापानिज एक, स्वीजरल्याण्डका एक, बेलायतका एक, भुटानका २३, बंगलादेश एकजना नागरिक काँकरभिट्टा नाका भएर बाहिरिएका छन् ।


















