झापा-आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले देश छोड्नुपर्ने परिस्थितिजन्य बाध्यता बनेको छ । गत महिनाबाट सुरु भएको आरक्षण विरोधी आन्दोलनले हसिनालाई सत्ता बहिर्गमनको स्थितिमा मात्रै पुर्याएन, देशै छोडेर भाग्नुपर्ने परिस्थिति सिर्जना भयो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री पदबाट राजीनामा दिनुअघि हसिनाले भिडियो सन्देश जारी गर्न चाहेकी थिइन् । तर, त्यो पनि पूरा हुन सकेन ।
विद्यार्थी राजनीतिबाट सत्ताको बागडोर सम्हाल्न पुगेकी हसिना अन्तत विद्यार्थी आन्दोलनकाे बलमा बहिर्गमनको बाटोमा पुगेकी छन् । आमाबाबु र तीन भाइको हत्यापछि लामो समय भारतमा निर्वासित भएकी हसिना स्वदेश फर्किदा हजारौं मानिसले विमानस्थलमा उनलाई स्वागत गरेका थिए ।
१७ मे १९८१ मा हसिना स्वदेश फर्किँदा जनस्तरमा जुन खुसियाली छाएको थियो, सत्ता बहिर्गमनपछि देश छोड्दा अझ धेरै मानिस खुसीले हर्षाेल्लास मनाइरहेका छन् ।
लोकतन्त्रका लागि लडेको भनिए पनि शासन सत्तामा बसेर निरंकुश अभ्यास गर्न थालेपछि प्रधानमन्त्री हसिना विरुद्ध जनस्तरमा तीव्र आक्रोश बढेको थियो । अचानक विद्यार्थीले आन्दोलन सुरु गरे, आन्दोलनमाथि चरम दमन हुँदा असन्तुष्टि र रक्तपात सुरु भयो ।
सरकारले आन्दोलनलाई रोक्ने प्रयास गर्दा सयौं मानिसले ज्यान गुमाए । बढ्दो सरकारी हस्तक्षेप र दमनले प्रदर्शनकारीलाई रोक्न सकेन । ठूलो सङ्ख्यामा प्रदर्शनकारीले प्रधानमन्त्री हसिनाको सरकारी निवासमा आक्रमण र लुटपाट गरे । अन्तत पदबाट राजीनामा दिएर परिवारका साथ भाग्नुपर्ने परिस्थिति सिर्जना भयो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हसिना छिमेकी देश भारतमा शरण लिन पुगेकी छन् । असिनाको सत्ता बहिर्गमनपछि बङ्गलादेशमा सेना प्रमुख जनरल बकार उज- जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।
चौथोपटक लगातार निर्वाचन जितेर सत्तामा बलियो पकड बनाउँदा समेत बङ्गलादेशी प्रधानमन्त्री हसिनाले देशमा बस्ने परिस्थिति निर्माण हुन सकेन । बङ्गलादेशकाे घात प्रतिघात राजनीतिको पृष्ठभूमिले उनको सत्ता बहिर्गमनको यात्रालाई मलजल गरेको हुनसक्छ ।
















