झापा-प्राकृतिक विपत्तिका विभिन्न घटनामा गत आर्थिक वर्षमा कोशी प्रदेशमा ७७ जनाको ज्यान गएको छ । पूर्वी नेपालका १४ जिल्लामा भएका विपत्तिका घटनामा उनीहरूको मृत्यु भएको हो ।
गत आर्थिक वर्षमा पूर्वी नेपालमा दुई हजार आठ सय ६८ विपतका घटना भएकाे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बाढी पहिरो, आगलागी, चट्याङ र जंगली जनावरको आक्रमणमा मानवीय क्षति भएको हो ।
ती घटनामा २७७ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले बताए । प्रवक्ता दाहालका अनुसार बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको छ ।
चट्याङका कारण १३ जनाले ज्यान गुमाएका छन् भने आगलागीका घटनामा २० जनाको मृत्यु भएको छ । जङ्गली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।
झापा लगायत पूर्वी नेपालका कतिपय जिल्लामा हात्तीको उपद्रो छ । झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा हात्तीको आक्रमणबाट ज्यान गुमाउने पनि छन् ।


















