झापा-सरकारले पूर्वी नेपालका तीनवटा निजी मेडिकल कलेजलाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अनुमति दिएको छ ।
उपत्यका बाहिर स्वास्थ्य बीमा सञ्चालनका लागि अनुमति दिइएका छ वटामध्ये तीनवटा निजी मेडिकल कलेज पूर्वी नेपालका छन् ।
सरकारले पूर्वमा बीएण्डसी मेडिकल कलेज झापा, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेज विराटनगरलाई स्वास्थ्य बीमा सञ्चालनका लागि अनुमति दिएको हो ।
स्वास्थ्य बीमा बोर्डसँग भएको सम्झौता अनुसार यी स्वास्थ्य प्रतिष्ठानले मङ्गलबारबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएका छन् । झापामा बिर्ताज्योति आइकेयरले पनि स्वास्थ्य बीमा सञ्चालनको अनुमति पाएको छ ।
झापामा बिएण्डसी मेडिकल कलेजले यसअघि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको थियो । तर, बीमा बोर्डले भुक्तानी प्रक्रियामा गरेको ढिलाईका कारण अवरुद्ध भएको स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको छ ।
















