१ असार २०८३, सोमबार | Mon Jun 15 2026

साहित्य चौतारीले रथारोहणसहित २५ औँ वार्षिकाेत्सव मनाउँदै



बिर्तामोड– साहित्य चौतारी झापाले आगामी असार ३१ गते २५ औँ वार्षिकाेत्सव मनाउने भएको छ । रजत वर्ष महाअभियान अन्तर्गत २११औं भानुजयन्तीसहित विभिन्न कार्यक्रम आयोजना गरी चौतारीले वार्षिक उत्सव मनाउन लागेको हो ।

२०५६ सालमा साहित्य चौतारी स्थापना भएको थियो । साहित्य, संगीत र कलाको माध्यमबाट सामाजिक रूपान्तरण र जागरणको अभियानमा साहित्य चौतारीले स्रष्टा र सर्जकहरुलाई गोलबद्ध गरी संरक्षण र अवसर प्रदान गर्दै आएको छ ।

साहित्य चौतारीका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठले साहित्य, संगीत, भाषा, कला र संस्कृतिको क्षेत्रमा अविच्छिन्न सेवारत विभिन्न व्यक्तित्वलाई रथारोहण र अभिनन्दनसहित बिर्तामोडको इन्द्रेणी ब्याङ्क्वेटमा वार्षिकाेत्सव मनाइन लागेको बताए ।

चौतारीले गायन प्रतिभाकी धनी शान्ति ठटाल, भाषाविद् चूडामणि रेग्मी, नेपाली पत्रकारिता क्षेत्रका सिद्धहस्त व्यक्तित्व नकुल काजी र लोक सम्राट एलपी जोशीलाई रथारोहण गराउने भएको छ । कार्यक्रममा विभिन्न व्यक्तित्वलाई अभिनन्दन गरिनेछ ।

पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, संस्कृति विज्ञ डा.जगमान गुरुङ, संगीत तथा नाट्यकला प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राज्ञ गणेश रसिक, प्राध्यापक डाक्टर टंक न्यौपाने र गंगाप्रसाद अधिकारी, साहित्यकार कुन्ता शर्मा, अनुराधा थापा, बिक्रम श्री, प्रतिष्ठानका उपकुलपति गायक तथा संगीतकार शम्भु राई र कवि मनु मञ्जिललाई अभिनन्दन गर्न लागिएको हो ।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीकाे प्रमुख आतिथ्य र लेखक निर्माता निर्देशक प्रकाश सायमीको विशेष आतिथ्यमा आयोजना गर्न लागिएको कार्यक्रममा साहित्य चौतारीका सह संरक्षक जितु गौतम, पूर्व अध्यक्षहरू शिवशंकर थापा, केशव आचार्य, टङ्क विकल्प, हस्त परियार लगायतलाई पनि सम्मान गर्ने कार्यक्रम छ ।

साहित्य चौतारीका सल्लाहकार राजेन्द्र संग्रौलाको सम्पादनमा रजत विशेषाङ्क समेत प्रकाशनको तयारी गरिएको छ । करिब ४०० पृष्ठको विशेषाङ्क ४ खण्डमा विभाजित रहेको संग्रौलाले बताए ।

रजत वर्षका गतिविधिलाई समेत समेटेर विशेषाङ्क प्रकाशित हुनेछ ।रजत वर्षका अवसरमा राष्ट्रव्यापी कविता प्रतियोगिता पनि आयोजना गरिएको साहित्य चौतारीका सचिव गौरव श्रेष्ठले बताए ।

प्रतियोगिताका लागि १० वटा कविता छनौट भएका छन् । कार्यक्रममा ती कविता वाचन हुने र उत्कृष्टलाई पुरस्कृत गर्ने सचिव श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा छिमेकी राष्ट्र भारतबाट समेत नेपालीभाषी साहित्य, संगीत र कलाका मूर्धन्य व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार ००:००  ९ : ५७ बजे