झापा-नेकपा एमालेले परिवर्तित राजनीतिक घटनाक्रमपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिन अस्वीकार गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
राष्ट्रिय सरकार निर्माणमा सहयोग गर्न प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न समय दिए पनि राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भएपछि मङ्गलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई राजीनामा गर्न सुझाव दिएको थियो ।
एमाले र कांग्रेसको नयाँ सत्ता समीकरण बनिरहँदा प्रधानमन्त्री दाहाल भने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने निष्कर्षमा पुगेका छन् ।
प्रधानमन्त्री दाहाललाई भेटेरै समर्थन फिर्ता लिने र मन्त्रीहरू सरकारबाट फिर्ता बोलाउने तयारी गरेको प्रमुख सचेतक बर्तौलाले बताए ।


















