९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

नगर प्रमुख प्रसाईद्वारा सडक अनुगमन



बिर्तामोड- बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले वडा नम्बर ५ स्थित कनकाई रोडको अनुगमन गरेकी छन् । इलाम स्टेनदेखि सुव्वा चोकसम्मको सडक खण्डमा आरसिसी नाली, स्ल्याब तथा पेवर्स लगाउने काम धमाधम भइरहेको छ ।

नगर प्रमुख प्रसाईले इञ्जिनियर सहितको टोली लिएर अनुगमन गरेकी हुन् । अनुगमनमा नगर उप प्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्ष रोहित प्रसाईलगायत स्थानीय जनप्रतिनिधि सहभागी थिए ।

आगामी १० दिन भित्रमा सम्पन्न गर्ने गरी दुई खण्डमा धमाधम काम भइरहेको छ । इलाम स्टेनदेखि नेपाल टेलिकम सम्मको १ सय ८५ मिटर कनकाई निर्माण सेवा र टेलिकमदेखि सुव्वा चोकसम्म ४ सय ६ मिटर आचार्य निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेको छ ।

सडक सात मिटर चौडाईको छ । दुवै खण्डमा नाला निर्माण सकेर पेवर्स लगाउने काम सुरु भएकोले चाँडै काम सम्पन्न हुने वडाध्यक्ष रोहित प्रसाईले बताए ।

सघन शहरी तथा भवन निर्माण कार्यालय भद्रपुरबाट कनकाई निर्माण सेवाले ८० लाख र आचार्य निर्माण सेवाले १ करोड ५० लाख रुपैयाँमा कामको ठेक्का लिएका हुन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार ००:००  २ : ४२ बजे