बिर्तामोड-बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनको लागि खडा गरिएको स्वतन्त्र व्यवसायिक प्यानलमा चार जना पदाधिकारीको नाम टुङ्गो लागेको छ ।
नेकपा एमालेसहित विभिन्न पाँच वटा दलमा आवद्द व्यवसायीहरुको संयुक्त प्यानलबाट उमेद्वारको टुंगो लागेको हो । अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे राजु, महासचिवमा कृष्ण पौडेलको नाम टुङ्गो लागेको हो ।
यसैगरी व्यवसायी ओमप्रकाश श्रेष्ठले पनि पदाधिकारीमै कुनै पद पाउने निश्चित भएको छ । बाँकी पदाधिकारी तथा सदस्यको नाम टुङ्याउने विषयमा भने व्यवसायीहरुको आन्तरिक बैठक तथा छलफल चलिरहेको छ ।
अध्यक्षका उम्मेदवार मैनाली वर्तमान महासचिब र वरिष्ठ उपाध्यक्षका उम्मेदवार घिमिरे वर्तमान वाणिज्य उपाध्यक्ष हुन् । फागुन १४ हुने निर्वाचनका लागि दलहरु आफ्नो उम्मेदवार छनोटको प्रक्रियामा छन् ।
स्वतन्त्र व्यवसायिक प्यानलमा अन्य केही व्यवसायीको नाम पनि चर्चामा छ । युवराज निरौला, लक्ष्मीप्रसाद सापकोटा, गोमा भट्टराई लगायतको नाम चर्चामा रहेको हो ।
स्वतन्त्र व्यवसायिक प्यानलका उम्मेदवारहरु हिजो आज सदस्यता नवीकरण तथा मतदातासँगको भेटघाटमा व्यस्त छन् । बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका सबै बजार, पसलमा पुगेर मतदातासँग भेटघाट तथा सदस्यता नवीकरण गराउने काम भइरहेको व्यवसायी युवराज निरौलाले जानकारी दिए ।


















