बिर्तामोड– झापामा सोमवार एकैदिन चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार एक जना महिलाको ढुंगाले हानेर हत्या भएको छ । अर्की एक महिलाको पनि शव भेटिएको छ भने दुई पुरुष पनि मृत भेटिएका छन् ।
घटना १
झापाको शिवसताक्षीमा–११ मैनाचुली बस्ने ७४ बर्षीया रमनमाया राई गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनी डिप्रेसनको समस्याबाट पीडित रहेको स्थानीयले बताएका छन् ।
घटना २
दमक नगरपालिका वडा नम्बर ४ प्रतिभा टोल निवासी ६० बर्षीय रामचन्द्र न्यौपाने घरभित्रबाट ताला लगाएको अवस्थामा कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटना ३
झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ७ घर भएका २० बर्षीय दिनेश चौधरी कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सागर बिष्टको घरमा रहेको डेरामा सिलिङ फेनमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
घटना ४
झापाको अर्जुनधारा नगरपालिका ६ स्थित व्याडमिन्टन कबर्ड हल नजिक माई नगरपालिका वडा नम्बर १ कलकत्ते निवासी ५० बर्षीया माया मगर मृत भेटिएकी छन् ।
टाउकोमा उनको चोट छ । ढुंगाले हानेर उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ । तालिम प्राप्त कुकुरको सहायताले घटनामा संलग्न अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


















