२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म



काठमाडौं -सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्मका लागि थप गरेको छ । जेठ मसान्तसम्म विवरण बुझाउन भनिए पनि अपेक्षाकृत कम व्यक्तिले मात्रै विवरण बुझाएपछि आयोगले अन्तिम पटक भन्दै म्याद थप गरेको हो ।

आयोगले जेठ १ गते सार्वजनिक सूचना जारी गर्दै पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी, उच्चपदस्थ कर्मचारी तथा सहसचिव तहसम्मका सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो । सुरुमा जेठ मसान्तसम्मको समय दिइएको थियो ।

तर निर्धारित म्याद सकिन तीन दिन बाँकी रहँदासम्म करिब ३ हजार ५०० जनाले मात्रै सम्पत्ति विवरण बुझाएको आयोगले जनाएको छ । विवरण बुझाउनुपर्नेको संख्या यसको तुलनामा निकै बढी रहेको आयोग स्रोतको भनाइ छ ।

आयोगका अध्यक्ष राजेन्द्र भण्डारीले केही व्यक्तिहरू विदेशमा रहेको, कतिपयले सम्पत्ति विवरण संकलन गर्न समय अपुग भएको भन्दै गुनासो गरेपछि समय थप गरिएको बताए । आयोगका अनुसार असार मसान्तसम्मलाई अन्तिम अवसरका रूपमा म्याद थप गरिएको हो ।

आयोगका प्रवक्ता गणेश केसीले पछिल्ला दिनमा विवरण बुझाउनेको चाप बढेकाले व्यवस्थापन सहज बनाउन पनि समय थपिएको जानकारी दिए । उनका अनुसार आयोगले प्राप्त विवरणको प्रारम्भिक अध्ययन र जाँचबुझ प्रक्रिया समेत सुरु गर्ने तयारी गरेको छ ।

सम्पत्ति विवरण संकलनलाई आयोगले आफ्नो मुख्य कार्यसूचीका रूपमा अघि बढाएको छ । सार्वजनिक पदमा रहँदा आर्जित सम्पत्ति र आयस्रोतबीचको सम्बन्ध परीक्षण गर्ने तथा अवैध सम्पत्ति आर्जनका सम्भावित घटनाको पहिचान गर्ने उद्देश्यले विवरण माग गरिएको आयोगको भनाइ छ ।

म्याद थपिएसँगै विवरण नबुझाएका पूर्व तथा वर्तमान उच्चपदस्थ व्यक्तिहरूमाथि दबाब भने यथावत् रहेको छ । आयोगले असार मसान्तपछि प्राप्त विवरणको विश्लेषणका आधारमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने संकेत गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार ००:००  १ : २७ बजे