९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

वैदेशिक रोजगार व्यवसायी संघमा विवाद : अध्यक्षसँग स्पष्टीकरण माग



काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघ भित्रको आन्तरिक विवाद सार्वजनिक भएको छ । महासचिव महेश बस्नेतसहित केही कार्यसमिति सदस्यले अध्यक्ष भुवनसिंह गुरुङसँग लिखित स्पष्टीकरण मागेका छन् ।

बुधबार बसेको केही पदाधिकारी तथा कार्यसमिति सदस्यको बैठकले संघको कार्यप्रणाली, निर्णय प्रक्रिया र सल्लाहकार हटाउने विषयमा अध्यक्ष गुरुङसँग जवाफ मागेको हो ।

अध्यक्षले कार्यसमिति सदस्यलाई पर्याप्त जानकारी नदिई निर्णय गरेको, औपचारिक बैठक नबोलाई अनौपचारिक रूपमा निर्णय अघि बढाएको र केही विषय पदाधिकारीलाई जानकारी नै नदिई टुंग्याएको आरोप उनीमाथि लगाइएको छ ।

अध्यक्ष गुरुङले यसअघि संघका दुई सल्लाहकार सदस्यलाई पदमुक्त गरेपछि विवाद चर्किएको हो । कार्यसमिति सदस्यहरूले ६ वैशाखमा बसेको भनिएको बैठकको आधिकारिक अभिलेख, उपस्थित सदस्य संख्या, सूचना प्रक्रिया र निर्णयको आधारसमेत मागेका छन् ।

महासचिव बस्नेतले अध्यक्षले संस्थालाई व्यक्तिगत ढंगले चलाउन खोजेको आरोप लगाए । ‘विधि र प्रक्रियाभन्दा बाहिर गएर निर्णय गर्न थालिएपछि स्पष्टीकरण माग्नु परेको हो,’ उनले भने ।

अध्यक्ष गुरुङले भने आफूमाथि लगाइएका आरोप निराधार रहेको बताएका छन् । संघ विधानअनुसार सञ्चालन भइरहेको दाबी गर्दै उनले केही व्यक्तिले योजनाबद्ध रूपमा भ्रम फैलाउन खोजेको प्रतिक्रिया दिए ।

‘कार्यसमितिको बहुमत हाम्रो पक्षमा छ, यस्ता गतिविधिले संगठनलाई असर पार्दैन,’ गुरुङले भने ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार ००:००  १२ : ४१ बजे