भद्रपुर– भद्रपुरमा शनिबारदेखि सुरु भएको प्रथम चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरालाई ६-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
एकतर्फी बनेको खेलमा आर्मीले ११औं मिनेटमै दिपा शाहीको गोलबाट अग्रता लिएको थियो। बिमला चौधरीको प्रहार आरएस पोखराकी गोलरक्षक मनिषा तामाङले नियन्त्रणमा लिन नसक्दा फुत्किएको बललाई दिपाले जाली चुमाएकी थिइन्।
आर्मीका लागि बिमला चौधरीले २६औं र २८औं मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई ३-० को सहज अवस्थामा पुर्याइन्। पहिलो हाफको ३५औं मिनेटमा चन्द्रा भण्डारीले हेडमार्फत गोल थपेपछि आर्मीले पहिलो हाफमै ४-० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा पनि आर्मीले दबाब कायम राख्यो। ५०औं मिनेटमा जेनिफर राना मगरले पाँचौं गोल गरिन् भने ६२औं मिनेटमा चन्द्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित ६-० मा पुर्याइन्।
पूरै खेलमा निरीह देखिएको आरएस पोखराले विपक्षी पोस्टतर्फ प्रभावकारी आक्रमणसमेत गर्न सकेन। आर्मीकी बिमला चौधरी प्लेयर अफ द म्याच घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरिन्।
प्रतियोगिताअन्तर्गत आइतबार भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
महिला फुटबलतर्फ नेपालकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
















