मोरङ– विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा-११ ले विजयी सुरुआत गरेको छ। शनिबार शहीद रङ्गशालामा फ्लडलाइटमा सम्पन्न खेलमा झापाले त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ गोलले पराजित गरेको हो।
झापाका फागुराम थारूले १० औँ र ४४ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। आर्मीका नवीन लामाले २३ औँ मिनेटमा एक गोल फर्काए पनि त्यसपछि गोल नजोडिँदा झापा विजयी बन्यो। खेलका उत्कृष्ट खेलाडी घोषित थारूले नगद ११ हजार रुपैयाँ प्राप्त गरे।
‘फुटबलको पर्व, विराटनगरको गर्व : विराट गोल्डकप’ नारासहित सुरु प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी छन्।
सहभागी टोलीमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, मच्छिन्द्र, एपिएफ, चर्च ब्वाइज युनाइटेड, सम्राट स्पोर्टिङ, झापा–११ र भारतको झारखण्डस्थित विर्षामुण्डा फुटबल एकेडेमी छन्।
आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अनुसार प्रतियोगिताको ३८औँ संस्करणको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीलाई ५१ हजार तथा विधागत उत्कृष्टलाई जनही १५ हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको ट्रष्टका महासचिव विनोद बस्नेतले बताए।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद विकासमा प्रदेश सरकारको सहयोग रहने बताए। आइतबारको खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ।
















