२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

साधुटारमा फागुन २८ देखि अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव




बिर्तामोड-श्री शंकराचार्य पीठ साधुटारमा फागुन २८ देखि ३० गतेसम्म तीन दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव हुने भएको छ ।

शङ्कराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशालाको स्वर्ण महोत्सवको अवसरमा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव आयोजना गरिएको हो ।

पर्यटन वन तथा वातावरण मन्त्रालयको संरक्षकत्वमा नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल पर्यटन बोर्डको समेत सहकार्यमा महोत्सव आयोजना गरिएको छ ।

त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य पर्यटन महोत्सवका संयोजक डाक्टर गोपीकृष्ण खतिवडाका अनुसार महोत्सवमा भारतबाट २० र नेपालका विभिन्न जिल्लाबाट ५० जना श्रष्टाहरु विशिष्ट पाहुनाका रूपमा सहभागी हुनेछन् ।

प्रसिद्ध भजन गायक जुनियर अनुप जलौटासहित ख्याति प्राप्त गजलकारहरु, मिसकस्मो २०८२ विजेता दीपशिखा नेपालसहित कलाकारहरूको समेत विशेष प्रस्तुति रहनेछ ।

नेपालको एकमात्र शंकराचार्य पीठ साधुटार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आचार्य पण्डित लक्ष्मीप्रसाद खतिवडाले बताए ।

साधुटार क्षेत्रको भौतिक तथा आध्यात्मिक पूर्वाधार विकासका लागि समेत सरकारको ध्यानाकर्षण गराउने उद्देश्य राखिएको छ ।
कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् ।


यस्तो छ कार्यतालिका
२८ गते साँझ ६ बजेदेखि १० बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । जसमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति राख्नेछन् ।

फागुन २९ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म झापा जिल्लाका विभिन्न गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई छन्द तथा गद्य कविता लेखन प्रशिक्षण दिइनेछ । बेलुका साढे छ बजेदेखि १० बजेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारले भजन तथा गजल प्रस्तुत गर्नेछन् ।
फागुन ३० गते मूल समारोह सम्पन्न गरिनेछ जसमा साहित्य तथा पर्यटन सम्बन्धी तीनवटा कार्यपत्रहरू प्रस्तुत गरिनेछन् । कार्यक्रम अवधिभर पठन संस्कृतिको विकासका लागि पुस्तक प्रदर्शनी पनि राखिएको छ ।

हरेक दिन बिहान ४ बजेदेखि छ बजेसम्म त्रिदिवसीय योग शिविर पनि आयोजना गरिएको महोत्सवका संयोजक डाक्टर खतिवडाले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार ००:००  ९ : ५५ बजे