७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा



विराटनगर-कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ । झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पतालको शुभारम्भ गरिएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अस्पतालको शुभारम्भ गर्नुभयो। ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार यसमा रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले यो सेवालाई गाउँ गाउँसम्म विस्तार गर्ने बताउनुभयो । तत्कालै महामारी फैलिँदा देखि स्वास्थ्य शिविर हरु सञ्चालन गर्न यो प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यो घुम्ती अस्पताल नेपालमै पहिलो र नमुना योग्य भएको चर्चा गर्दै यसलाई थप परिस्कृत गर्दै आम जनतामा पुर्याउने प्रदेश सरकारको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बु ले प्रदेश सरकारले जनताले देखिने गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताउनुभयो ।

करिब ८० लाख रुपैयाँ खर्च गरेर बसमा नै कोशी घुम्ती अस्पताल सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । त्यस्तै आज कमल गाउँपालिकामा स्वास्थ्य निर्देशनालयले स्वास्थ्य शिविर समेत आयोजना गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार ००:००  २ : १३ बजे