७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

प्रेस विज्ञप्ति : फैसला बमोजिम जग्गाको भोगचलन गर्न पाऊँ



प्रेस विज्ञप्ति

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाबाट भएको फैसला बमोजिम जग्गाको भोगचलन गर्न पाऊँ केही दिनदेखि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा जग्गा विक्रीका क्रममा भएको अवरोध बारे विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक भइरहेको छ ।

हामीले मोही हक वापत प्राप्त गरेको जग्गा विक्रीका लागि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर जाने क्रममा अवरोध भएको थियो । अवरोधपछि कार्यालयमा यसै विषय र अन्य जग्गा समेतको सन्दर्भमा विवाद भएको यसअघि नै सार्वजनिक भइसकेको छ । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले गरेको फैसलापछि हामीले घरायसी व्यवहार मिलान गर्न, घर बनाउन जमिन विक्री गर्ने निधो गरेका थियौं । अहिले त्यहि जग्गामाथि विभिन्न लान्छना लगाउँदै हामी मोहीयानी हक प्राप्त गर्ने परिवारमाथि विभिन्न किसिमका आक्षेपहरु समेत लगाइरहेको सुनिरहेका छौं ।

यस सन्दर्भमा हाम्रो परिवारको तर्फबाट जग्गाको विषयमा स्पष्ट बनाउनुपर्ने आवश्यकता महसुस गरी यो प्रेस विज्ञप्ति सार्वजनिक गरेका हौं ।

१. झापा जिल्ला साविक चारपाने गाविस वडा नं. १ हाल बिर्तामोड नगरपालिका वडा नं. १ मा बसोवास गर्ने कुडानु राजवंशीले २०२२ सालमा भूमिसुधारबाट २ नं. अनुसुची बमोजिम जोताहाको अस्थायी निस्सा प्रमाणित गरी लिएको हो ।

२. कुडानु राजवंशीको २०३७ साल माघ महिनामा निधन भएपछि निजको श्रीमति जानाकी राजवंशीले भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरमा मोहीयानी हक आफ्नो नाममा नामसारी गर्न २०३७÷११÷२८ मा दिएको निवेदन बमोजिम नामसारी भएको हो ।

३. मोहीयानी हक दावी गर्दै कमानसिंह कार्कीको नाती भीम बहादुर कार्कीको छोरा जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं। १ बस्ने वर्ष ६१ को नरबहाखुर कार्की विरुद्ध मोही हक बाँडफाँड गरी मोही लगत कट्टा गरी पाउँ भनी २०८१ माघ २९ गते मुद्दा दर्ता गरिएको हो ।

४. मुद्दाका वादी र प्रतिवादी दुवै पक्षले सँगसँगै तारिख र पेशीका लागि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरमा हाजिर भएको हो । सोही समयमा भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरको तर्फबाट फिल्ड सर्जिमिन समेत भएको थियो ।

५. वादी र प्रतिवादीबीच मेलमिलापका लागि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरको तर्फबाट धेरै पटक समन्वय भएको हो । सो क्रममा दुई पक्षबीच मेलमिलाप नभएपछि वादी र प्रतिवादी पक्षले आआफ्नो कानुन व्यवसायी राखेर प्रक्रिया अघि बढाउने क्रममा हामी मोही हक दावी गर्नेको पक्षमा २०८२ मंसिर १५ गते फैसला भएको थियो । उक्त फैसला उपर चित्त नबुझेको खण्डमा जग्गाधनीले माथिल्लो न्यायिक निकायमा जान सक्ने समेत उल्लेख गरिएको छ ।

६. भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरबाट भएको फैसलापछि मोही लगत कट्टा गरी जग्गा बाँडफाँड गरिएको हो । त्यसपश्चात भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरबाट जानाकी राजवंशीको नाममा २०८२ पुस १३ गते कि. नं. २११७६, ज.वि. ०–७–०, कि.न. २११७८, ज.वि. ०–१०–२.२५, कि.नं. २११८८, ज.वि. ०–३–१३ उल्लेख गरी धनीपुर्जा जारी भएको छ ।

७. जग्गाधनी परिवारले २०५० सालमा मोही लगत कट्टा गरिएको भन्ने विषयमा हाम्रो परिवारलाई थाहा छैन । हामी मोही पक्षलाई वेपत्ता बनाई लगत कट्टा विभिन्न अभिलेखमा उल्लेख छ । हाम्रो परिवार कहिल्यै पनि वेपत्ता नभएको, जग्गाधनी परिवारको साँधसिमानामा बसिरहेका छरछिकेमीहरु सबैलाई जानकारी छ ।

अन्त्यमा, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरबाट भएको फैसलाका आधारमा जग्गा धनीपुर्जा समेत जारी भई सकेको अवस्थामा हामीले आफ्नो जमिनको अधिकार प्राप्त गरिसकेका छौं । जग्गाको अधिकार प्राप्त भइसकेपछि जग्गाधनीले आफ्नो सम्पत्ति किनबेच गर्न पाउने नैसर्गिक अधिकार छ । सोही आधारमा जग्गा विक्री गर्ने सन्दर्भमा हामीमाथि अवरोध भयो ।

अवरोधपछि हामी अन्यायमा परेका छौं । आफ्नो सम्पत्ति किनबेच गर्न अवरोध भएको घटनाप्रति अधिकारवादी संघसंस्था, राजनीतिक दल, मानवअधिकारीवादी संघ संस्था, स्थानीय प्रशासन र तमाम् शुभेच्छुकप्रति न्यायका लागि यसै विज्ञप्ति मार्फत हार्दिक अपील गदछौं ।

जानाकी राजवंशी, बिर्तामोड – १ झापा रामबहादुर राजवंशी -भतिज) बिर्तामोड – १ झापा

मिति २०८२–९–१८

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार ००:००  ७ : ५५ बजे