झापा-प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणासँगै झापामा नयाँ मतदाता थपिने क्रममा उल्लेख्य वृद्धि भएको छ । निर्वाचन कार्यालयका अनुसार निर्वाचन घोषणापछि मात्रै जिल्लामा ३५ हजार ३१९ जना नयाँ मतदाता सूचीकृत भएका छन् ।
निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार थपिएका नयाँ मतदातामध्ये राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरेर नाम दर्ता गराउनेको संख्या अत्यधिक छ ।
तथ्याङ्क अनुसार राष्ट्रिय परिचयपत्रमार्फत २३ हजार ५८६ जनाले आफ्नो नाम मतदाता सूचीमा चढाएका छन् भने फोटो तथा औँठाछापसहितको परम्परागत जैविक विवरण (बायोमेट्रिक्स) मार्फत ११ हजार ७३३ जना थपिएका छन् ।
यो वृद्धिसँगै झापामा कुल मतदाताको संख्या ७ लाख नाघेको छ । निर्वाचन घोषणाअघि ६ लाख ७९ हजार २७६ मतदाता रहेको झापामा अब कुल मतदाता संख्या ७ लाख १४ हजार ५९५ पुगेको छ ।
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था मिलाएपछि अनलाइनमार्फत फारम भर्नेहरूको संख्या ह्वात्तै बढेको हो ।
झापामा मात्र नभई देशभरि नै मतदाताको संख्यामा उत्साहजनक वृद्धि देखिएको छ । देशभर कुल ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन् ।
सुरुमा कात्तिक ३० गतेसम्मका लागि तोकिएको समयसीमामा मतदाताहरूको अत्यधिक चाप बढेपछि र सरोकारवाला पक्षको आग्रहपछि आयोगले मङ्सिर ५ गते मध्यरातसम्मका लागि म्याद थप गरेको थियो ।














