खोटाङ – विकास निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीविरुद्ध खोटाङको स्थानीय सरकार आक्रामक रूपमा प्रस्तुत भएको छ । जिल्ला अस्पतालको भवन वर्षौंदेखि अलपत्र पारेको भन्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सम्बद्ध ठेकेदारलाई सार्वजनिक रूपमै बेइज्जत गर्ने चेतावनी दिएको हो ।
नगर प्रमुख तीर्थराज भट्टराईले अलपत्र निर्माणस्थलबाटै पत्रकार सम्मेलन गर्दै श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीलाई ७ दिनभित्र कामको तालिका पेस गर्न अल्टिमेटम दिएका छन् ।
“पटक–पटकको आग्रह र बैठकका निर्णयहरूलाई बेवास्ता गरियो,” भट्टराईले भने, “अब पनि अटेर गरे ठेकेदारहरूको फोटो चोक-चोकमा टाँसेर सार्वजनिक गर्नेछौँ र कानुनी कारबाही पनि अघि बढाउनेछौँ ।”
जिल्ला समन्वय समिति प्रमुख र प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा भएको यो घोषणाले विकास परियोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न स्थानीय सरकार कठोर बन्न तयार रहेको संकेत दिएको छ ।
करिब २३ करोड लागतको यो परियोजनाको सम्झौता २०७८ असारमा भएको थियो, तर निर्माण कम्पनीको लापरबाहीका कारण प्रगति शून्यप्रायः छ । नगर प्रमुख भट्टराईले निर्माण कम्पनीसँग ढिलाइ हुनुको कारणबारे लिखित स्पष्टीकरण समेत मागिने बताएका छन् ।



















