१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

इनरह्वील क्लब बिर्तामोड मिड टाउनले महिला बन्दी गृहमा मनायो तीज



झापा- इनरह्वील क्लब बिर्तामोड मिडटाउनले महिला बन्दी गृह भद्रपुरका बन्दी महिलाहरुसँग खुशीयाली साट्दै तीज पर्व मनाएको छ । महिला बन्दी गृहमा तीज मिलन समारोह आयोजना गरी क्लबले ७५ जना बन्दी महिलालाई दर खुवाउनुका साथै विभिन्न आवश्यक सामग्रीहरु सहयोग गरेको छ ।

एबीसी नेपाल सह आयोजक रहेको सो कार्यक्रममा १ थान सिलाई मेसिन, १ थान वाल पंखा, ७५ थान साडी, ३ हजार पिस सेनेटरी प्याड, थान कपडा ५० मिटर, किताब गरी जम्मा ५० हजार मूल्य बराबरको सामान उपलब्ध गराइएको इनरह्वील क्लब बिर्तामोड मिड टाउनकी अध्यक्ष लुना बस्नेतले बताइन् ।

क्लबकी अध्यक्ष बस्नेतको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी दोरेन्द्र निरौला, कारागार प्रमुख बिनोद आचार्य, एबीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल, एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी, महिला बन्दी गृहकी आन्तरिक प्रशासन प्रमुख रीता राई, क्लबका निशा गिरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सचिव कमला पौडेलले गरेकी थिइन् । बन्दी महिलालाई वितरण गरिएको सामान पूजा कलेक्सनकी पुजा अग्रवाल, मुनमुन अग्रवाल, रिचा अग्रवाल, रेनु शर्मा, बिपिन बस्नेतले सौजन्य प्रदान गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, बिहिबार ००:००  १ : ३४ बजे