१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

बिर्तामोडको न्यू जुनतारा सप्लायर्सद्वारा आइटेल ब्रान्डका विद्युतीय सामग्रीको बिक्री सुरु



बिर्तामोड– झापा बिर्तामोडको न्यु जुनतारा सप्लायर्सले आइटेल ब्रान्डका विश्वस्तरीय विद्युतीय सामग्रीको बिक्री सुरु गरेको छ । आइटेल होममार्फत जुनतारा सप्लायर्सले घरायसी प्रयोजनका विश्वस्तरीय विद्युतीय सामग्रीको बिक्री सुरु गरेको हो ।

शुक्रबार अपरान्ह आयोजित संक्षिप्त समारोहका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले शनिश्चरे रोडमा आइटेल हाेमकाे उद्घाटन गर्नु भयो ।

आइटेल ब्राण्डका उत्पादनको बिक्री नेपालमा पहिलोपटक सुरु भएको हो । यसका लागि जुनतारा सप्लायर्सले अग्रसरता लिएको छ । व्यवसायी ऋषि भण्डारीले करिब २ करोड रुपैयाँको लगानीमा सप्लायर्समार्फत व्यवसायिक यात्रा सुरु गर्नु भएको हो ।

भण्डारी यसअघि लामो समयदेखि मोबाइल व्यवसायीका रूपमा सक्रिय रहँदै आउनु भएको छ । एकपछि अर्को विश्वस्तरीय ब्राण्डको बिक्रीमा व्यवसायी भण्डारीले हात हाल्नु भएको हो ।

महालक्ष्मी प्रालिका प्रमुख कार्यकारी अधिकृत सन्तोष भण्डारीका अनुसार विश्वका ६० भन्दाबढी देशमा आइटेल ब्राण्डका उत्पादनको बिक्री हुने गरेको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले व्यवसाय विस्तार हुनु राज्यका लागि समेत ठूलो उपलब्धि भएको बताउँदै बिर्तामोड व्यावसायिक हव बन्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । व्यापार व्यवसाय बढ्दा राज्यलाई समेत फाइदा हुने बताउँदै उहाँले निजी क्षेत्रको सहभागिता अपरिहार्य हुने उल्लेख गर्नुभयो ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष युवराज निरौलाले स्वदेशमा केही हुँदैन भन्ने मानसिकता त्यागेर व्यावसायिक क्षेत्रमा युवाहरू अग्रसर हुनुपर्नेमा जोड दिँदै राज्यका निकायले प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।

नेपाल अलैँची व्यवसायी महासङ्घका महासचिव नारायण चिमरियाले व्यावसायिक क्षेत्रको विकासका लागि युवाहरूको अग्रसरता देखिनु आफैँमा सकारात्मक विषय भएको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, मोबाइल एसोसिएसन बिर्तामोडका वरिष्ठ उपाध्यक्ष सुप्रित खनाल, महासचिव सञ्जय साह लगायतकाे आतिथ्य रहेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, शनिबार ००:००  ७ : ४२ बजे