१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

जनार्दनलाई अनुशासनको कारबाही गर्ने प्रचण्डको चेतावनी



काठमाडौँ-नेकपा माओवादी केन्द्र भित्रको राजनीतिक असन्तुष्टि सतहमा आइरहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कटु आलोचक उपमहासचिव जनार्दन शर्मालाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन् ।

पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रुपमा अभिव्यक्ति दिएको जनाउँदै अध्यक्ष प्रचण्डले शुक्रबारदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अनुशासन विपरीत कार्य गरे कारबाही गर्ने चेतावनी दिएका हुन् ।

विगत एक वर्षयता अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण लगायतका विषयमा तीव्र विवाद हुँदै आएको छ । शर्मामाथि पार्टी फुटाउन खोजेको आरोप समेत लागिरहँदा प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।

बैठकको प्रारम्भमा नै अध्यक्ष प्रचण्डले पार्टीभित्रको कुरा छलफल र बहस गर्न सबैलाई छुट भएपनि सार्वजनिक रुपमा बोल्दै हिँड्ने छुट कसैलाई नभएको स्पष्ट पारे । उनले सुरुमै पार्टीभित्र अनुशासन कायम हुनुपर्नेमा जोड दिएका थिए ।

पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आएका उपमहासचिव शर्माले पछिल्लो समय विशेष महाधिवेशनको माग गर्दै आएका छन् । आगामी महाधिवेशनबाट प्रचण्डलाई चुनौती दिने शर्माको तयारीका बीच माओवादी भित्रको अन्तरसंघर्ष चुलिँदै गएको छ ।

पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टी एकतालाई बलियो बनाउने विषयमा नेताहरूबीच साझा सहमति रहेको बताउँदै नेता शर्माले उठाएका विषयहरु सम्बोधन हुने प्रष्ट पारे ।

बैठकमा शनिबारदेखि सबै नेताहरूले आ-आफ्नो धारणा राख्नेछन् । शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले मात्रै बोलेका छन् । बद्लिँदो पछिल्लो राजनीतिक परिस्थितिका विषयमा समेत माओवादीले छलफल गर्ने पोखरेलले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार ००:००  १० : ३७ बजे