पाँचथर-पाँचथरमा श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । फालेलुङ गाउँपालिका–७ का २७ वर्षीय महेन्द्र तामाङलाई २२ वर्षीया श्रीमती अनु राईको हत्या आरोपमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, तामाङले बिहीबार राति फिदिम नगरपालिका–१, नाम्दुस्थित ससुराली घरमा श्रीमती अनुलाई कोदालोको पासोले प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घटनाको खबर पाएलगत्तै प्रहरीले घाइते अनुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल, पाँचथर पुर्याएको थियो ।
उनको अवस्था थप गम्भीर भएपछि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा रिफर गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका अभियुक्त तामाङलाई प्रहरीले फिदिम नगरपालिका–६, गोले गाउँबाट पक्राउ गरेको हो ।
हाल उनलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।



















