काठमाडौँ-सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट लिँदै आएको कल्याणकारी कोषको शुल्क बढाउने गृहकार्य सुरु गरेको छ। वैदेशिक रोजगार बोर्डले हालको शुल्क संरचनामा परिवर्तन गरी श्रमिकलाई प्रदान गरिने सेवा-सुविधा विस्तार गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाएको हो ।
बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले शुल्क वृद्धिको विषयमा छलफल भइरहेको पुष्टि गरेका छन् । हाल, तीन वर्षसम्मको करार अवधिका लागि १,५०० र सोभन्दा बढी अवधिका लागि २,५०० शुल्क लिइँदै आएको छ ।
बोर्डको योजना शुल्क वृद्धिसँगै मृतक श्रमिकका परिवारलाई दिइने आर्थिक सहायता, अंगभङ्ग तथा बिरामी हुँदाको राहत र सन्तति छात्रवृत्ति जस्ता सुविधाहरूको रकम पनि बढाउने रहेको छ। शुल्क बढाउनु पर्नाको कारणबारे बोर्डका प्रवक्ता गुरुदत्त सुवेदीले पछिल्लो समय युरोपेली मुलुकहरूमा नेपाली श्रमिकको संख्या बढेको र त्यहाँबाट शव ल्याउने खर्च अत्यन्तै महँगो भएको बताएका छन् ।
उनका अनुसार, पोर्चुगल जस्ता देशबाट एउटै शव ल्याउन १८ लाख रुपैयाँसम्म खर्च भएको छ, जसले गर्दा कोषमाथि आर्थिक भार बढेको हो । यो शुल्क सबै देशका लागि समान रूपमा बढाउने वा गन्तव्य मुलुकअनुसार फरक-फरक निर्धारण गर्ने भन्ने विषयमा पनि छलफल चलिरहेको छ।



















