काठमाडौँ-वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमार्फत बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले गत वर्ष सम्पन्न भएका काम र चालु आर्थिक वर्ष २०८२/८३ का लागि तय गरिएका नयाँ कार्यक्रमबारे जानकारी दिएका हुन् ।
प्रतिवेदनअनुसार, बोर्डले गत वर्ष विदेशमा मृत्यु भएका १,१८० नेपालीको शव घरसम्म पुऱ्याउन सहयोग गरेको थियो भने १,२५० मृतकका परिवारलाई आर्थिक सहायता प्रदान गरेको थियो । यसैगरी, अंगभङ्ग भएका तथा बिरामी परेका करिब एक हजार कामदार र उनीहरूका परिवारलाई पनि आर्थिक तथा स्वास्थ्य उपचार सहयोग उपलब्ध गराइएको थियो ।
बोर्डले करिब चार हजार विद्यार्थीलाई सन्तति छात्रवृत्ति र १४ हजारभन्दा बढी युवालाई सीपमूलक तालिम दिएको जनाएको छ । साथै, अलपत्र परेका ७० वटा शव झिकाउने र एक जना कामदारको उद्धार गर्ने काम पनि सम्पन्न भएको छ । श्रमाधान कल सेन्टर र टेलिमेडिसिन सेवाको सफल सञ्चालनलाई पनि बोर्डले आफ्नो प्रगतिका रूपमा प्रस्तुत गरेको छ ।
कार्यकारी निर्देशक उप्रेतीले बोर्डमाथि हुने गरेका केही आलोचनाबारे पनि स्पष्ट पारेका छन् । उनका अनुसार, विदेशमा रोजगार मेला र गाडी खरिद जस्ता कार्यक्रमहरू बोर्डको क्षेत्राधिकारभित्रै पर्छन्, किनकि ऐनले श्रमिक र व्यवसायी दुवैको हितमा काम गर्ने अधिकार दिएको छ ।



















