१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

बालिकामाथि सामूहिक बलात्कार : एक युवक पक्राउ



राजविराज– सप्तरीको राजविराजमा एक बालिकामाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

राजविराज नगरपालिकाकी एक बालिकालाई बुधबारराति घरबाहिरबाटै अपहरण गरी सामूहिक बलात्कार गरिएको भन्दै परिवारले प्रहरीलाई जानकारी गराएपछि एक जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार पीडित परिवारले दिएको प्रारम्भिक जानकारीका आधारमा घटनामा संलग्न भएको आशंकामा एक युवकलाई पक्राउ गरी सोधपुछ थालिएको छ ।

प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै तत्काल कारबाही अघि बढाएको तर अनुसन्धानलाई पूर्णता दिन पीडित परिवारबाट औपचारिक जाहेरी आउन बाँकी रहेको बताउनुभयो ।

पीडित परिवारका अनुसार, बुधबारराति करिब ८ बजेतिर घर अगाडि रहेकी बालिकालाई चार जनाको समूहले जबरजस्ती उठाएर लगेको र बिहीबार बिहान मात्र घर नजिकै छाडेर फरार भएको थियो ।

प्रहरीले घटनामा संलग्न अन्यको पनि खोजी कार्य तीव्र पारेको जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार ००:००  ७ : ३४ बजे