बिर्तामोड-सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय झापामा सर्वसाधारणको भीड लागेको छ ।
यसअघि फोटो खिचाएर राष्ट्रिय परिचयपत्रको पर्खाइमा रहेका सर्वसाधारण कार्यालयसम्म पुगेका हुन् । फोटो खिचाउनुपर्ने सर्वसाधारण पनि राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा धाइरहेका छन् ।
एक वर्ष अघि फोटो खिचेका सर्वसाधारणको राष्ट्रिय परिचयपत्र तयार भएपछि जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । राष्ट्रिय परिचयपत्र बोर्डले परिचयपत्र पठाएपछि सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयमा पुगेर लिइरहेका छन् ।
यसअघि वडा तहबाट समेत राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो । लाइनमा बसेका एक सेवाग्राहीले दिनभर लाइनमा बस्दा समेत परिचयपत्र लिन मुस्किल भएको बताए ।
पर्याप्त जनशक्ति र व्यवस्थापन नहुँदा प्रशासन कार्यालयले बिनाझन्झट सर्वसाधारणलाई राष्ट्रिय परिचयपत्र वितरण गर्न सकेको छैन । यसलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा सर्वसाधारणले जोड दिएका छन् ।



















