बिर्तामोड-सवारी नियम उल्लङ्घन गर्ने कोशी प्रदेशका दुई लाख १३ हजार ६९५ सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा प्रहरीले गत आर्थिक वर्षमा उनीहरुमाथि कारबाही गरेको हो ।
सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ । कतिपय सवारी चालकलाई सचेतना कक्षामा समेत राखेर पढाउने गरिएको छ ।
सवारी नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्दा १६ करोड २९ लाख राजस्व उठाएको छ । कानुनले तोकेबमोजिम जरिवाना गर्दा समेत सवारी चालक सचेत नदेखिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदेशका मुख्य तथा सहायक मार्गमा ९३२ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । सार्वजनिक सवारीको गति नियन्त्रणका लागि २१ स्थानमा टाइम कार्ड लागू गरिएको छ ।
सवारी दुर्घटना नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेदेखि लागू पदार्थ तथा मादक पदार्थ सेवन चेकजाँचका कार्यक्रम समेत नियमित सञ्चालन भइरहेका छन् ।



















