१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

झापा र इलामका निर्माण व्यवसायीले पाएनन् २२ करोड भुक्तानी



बिर्तामोड-झापा र इलामका निर्माण व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन् । दुई वर्षअघि सम्पन्न भएका विकास योजनाको भुक्तानी नपाएको भन्दै उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन् ।

निर्माण व्यवसायी सङ्घ झापाले भुक्तानीका लागि पटक-पटक सरकारको ध्यानाकर्षण गराइएको जनाएको छ । सुनवाई नभएपछि निर्माण व्यवसायीको टोली मंगलबार प्रमुख जिल्ला अधिकारीलाई भेट्न पुगेको थियो ।

निर्माण व्यवसायी सङ्घ झापाका अध्यक्ष रमेश अधिकारीले भुक्तानी माग गर्दै भौतिक पूर्वाधार विकास कार्यालय झापा र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाइएको बताए ।

अध्यक्ष अधिकारीका अनुसार दुई वर्षअघि निर्माण सम्पन्न भएका झापा र इलामका ३४ वटा योजनाबाट व्यवसायीले २२ करोड रुपैयाँभन्दा बढी भुक्तानी लिन बाँकी छ ।

संघ महासचिव पुष्पराज निरौलाले योजना सम्पन्न भएर भ्याटबिलसहित सम्बन्धित कार्यालयमा बुझाइए पनि भुक्तानी नपाइएको बताए ।

संघका प्रथम उपाध्यक्ष केदार गिरीले काम सम्पन्न गरेको लामो समय बितिसक्दा पनि व्यवसायीले भुक्तानी नपाउनु दुखद भएको जनाउँदै यसमा सरकार गम्भीर हुनुपर्ने औंल्याए ।

यसअघि निर्माण व्यवसायीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री र भौतिक तथा पूर्वाधार विकास मन्त्रीलाई समेत भेटेर ज्ञापन पत्र बुझाइसकेका छन् ।

आफूहरूले राखेका माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिनुको विकल्प नहुने प्रथम उपाध्यक्ष गिरीले चेतावनी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार ००:००  ८ : ५३ बजे