१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

एमाले विरुद्धको मोर्चाबन्दीलाई सशक्त बनाउने प्रचण्ड माधव रणनीति



काठमाडौँ-नेकपा एमाले विरुद्धको मोर्चाबन्दीलाई थप सशक्त र प्रभावकारी बनाउन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच एकताको प्रयास भइरहेको छ ।

दुई दलबीचको एकताको गृहकार्यका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपालबीच दिनहुँ जसो भेटवार्ता भइरहेका छन् ।

माओवादी र नेकपा समाजवादीबीच एकताको चर्चा पटक-पटक चल्दै आए पनि यसपटक भने परिणाममुखी ढंगले काम गर्न लागिएको नेताहरुले बताउँदै आएका छन् ।

आन्तरिक विवादको घेरामा पर्दै आएको नेकपा माओवादी केन्द्र समाजवादीसँग एकताका लागि तयार छ । भ्रष्टाचारको मुद्दा लागेपछि समाजवादीका अध्यक्ष माधव नेपाल पनि माओवादीसँगको एकतालाई टुङ्ग्याउन खोजिरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीका उपमहासचिव जनार्दन शर्माको चुनौती झेल्नु परिरहेको छ । यसर्थ पनि प्रचण्ड दुई पार्टीबीच एकता होस् भन्ने चाहन्छन् ।

तर, पार्टी एकताका लागि नेकपा एकीकृत समाजवादीमा आन्तरिक सहमति जुटिसकेको छैन । पार्टीका सम्मानित नेता झलनाथ खनाल एमालेमै फर्किन्छन् भन्ने संशय अध्यक्ष नेपाललाई छ ।

त्यसो त नेता खनालले माओवादी पार्टीसँग एकता गर्ने बारे पार्टीमा कुनै छलफल नभएको प्रतिक्रिया दिइसकेका छन् । नेता खनालको भनाइले पार्टी एकताका लागि समाजवादीभित्र कुनै छलफल नभएको पुष्टि गर्छ ।

गत साता मात्रै समाजवादीले वामदेव गौतमलाई आफ्नो पार्टीमा प्रवेश गराएको थियो । समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले अध्यक्ष नेपाल र प्रचण्डबीच पार्टी एकता भन्दा पनि समाजवादी मोर्चाको विषयमा छलफल भइरहेको बताए ।

उपाध्यक्ष खतिवडाका अनुसार मोर्चालाई सक्रिय गराउने विषयमा दुई नेताबीच आवश्यक छलफल र परामर्श भइरहेको छ । यद्यपि, मोर्चाको एउटा घटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले भने यसको औचित्य समाप्त भएको जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार ००:००  ७ : ५० बजे