२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

३ खर्ब लगानीमा बन्ने मल कारखानाको विस्तृत खाका तयार



काठमाडौं-नेपालको औद्योगिक क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी भित्र्याउने सम्भावना बोकेको रासायनिक मल कारखाना स्थापनाको प्रक्रियाले गति लिएको छ।

जर्मन कम्पनी डिआइएजी इन्डस्ट्रिजले लगानी बोर्ड नेपाललाई बुझाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार, यो परियोजनामा करिब ३ खर्ब रुपैयाँ (लगभग २.२५ अर्ब अमेरिकी डलर) बराबरको लगानी र ३०० मेगावाट विद्युत् आवश्यक पर्ने देखिएको छ।

लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले डिपिआर हाल मूल्यांकनको चरणमा रहेको पुष्टि गरे । “जर्मन कम्पनीले २८ असार ०८० मा अध्ययनको समझदारी गरेपछि नेपालमा ‘डिआइएजी सूर्या ग्रिन फर्टिलाइजर’ नामक कम्पनी स्थापना गरी काम अघि बढाएको हो,” उनले भने।

यो परियोजनाको आर्थिक पक्ष निकै महत्वपूर्ण छ। हाल सरकारले मल आयातका लागि मात्रै चालु आर्थिक वर्षमा २८ अर्ब ८२ करोड रुपैयाँ अनुदान छुट्याएको छ।

स्वदेशमै उत्पादन सुरु भएमा यो विशाल रकम बचत हुने र देशको व्यापार घाटा कम गर्न समेत मद्दत पुग्नेछ। ३०० मेगावाट विद्युत्को मागले नेपालको ऊर्जा खपतलाई पनि ठूलो टेवा दिनेछ।

बोर्डबाट डिपिआर स्वीकृत हुनासाथ यो परियोजना नेपालको आर्थिक कायापलट गर्ने एक प्रमुख पूर्वाधार बन्ने निश्चित छ। प्रस्तावित कारखानाले वार्षिक ६ लाख मेट्रिकटन मल उत्पादन गर्ने लक्ष्य राखेको छ, जुन नेपालको हालको माग हो।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार ००:००  ७ : २६ बजे