७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

रामनगर आधारभूत विद्यालयलाई ‘नमूना’ बनाउने राउण्ड टेबल बिर्तामोडको महत्वाकांक्षी परियोजना



झापा– भौतिक पूर्वाधारको अभावमा पछि परेको बाह्रदशी-३ स्थित रामनगर आधारभूत विद्यालयको मुहार फेरिने भएको छ। अधिकांश सीमान्तकृत समुदायका बालबालिका अध्ययन गर्ने यस विद्यालयलाई ‘नमूना’ बनाउने महत्वाकांक्षी परियोजना राउण्ड टेबल बिर्तामोड २७ ले सुरु गरेको छ।

करिब ३० लाख रुपैयाँको बजेटमा सञ्चालन हुने यस परियोजनाको पहिलो चरणमा संस्थाले करिब ३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको खानेपानी र शौचालय भवन विद्यालयलाई हस्तान्तरण गरेको छ।

राउण्ड टेबल बिर्तामोड २७ का अध्यक्ष मनोज गोयलका अनुसार यो केवल सुरुवात मात्र हो। संस्थाले विद्यालयको पूर्ण अभिभावकत्व ग्रहण गर्दै यसलाई एक सुविधासम्पन्न नमुना शैक्षिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

“हामीले स्थानीय सरकारसँगको सहकार्यमा आगामी दिनमा नयाँ कक्षाकोठा, कम्प्युटर ल्याब, ई-लाइब्रेरी र प्लेग्रुपका बालबालिकाका लागि छुट्टै कोठा निर्माण गर्नेछौँ,” अध्यक्ष गोयलले आफ्नो योजना सुनाए।

उनले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक विद्यार्थीको शुद्ध खानेपानी र सुरक्षित शौचालयको अधिकार सुनिश्चित गर्न संस्था प्रतिबद्ध रहेको बताए।

यसअघि पनि राउण्ड टेबल बिर्तामोड २७ ले बिर्तामोड-१० स्थित चमरधाप प्राथमिक विद्यालयमा कक्षाकोठा, पर्खाल, शौचालय र खानेपानी पूर्वाधार निर्माण गरेर आफ्नो सामाजिक सक्रियता प्रमाणित गरिसकेको छ।

कार्यक्रमकी प्रमुख अतिथि बाह्रदशी गाउँपालिकाकी अध्यक्ष शान्ता शिवाकोटीले राउण्ड टेबलको यस कार्यलाई उदाहरणीय भन्दै प्रशंसा गरिन्। बाह्रदशी सामुदायिक क्याम्पसका अध्यक्ष गंगाप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य झरु राजवंशी र प्रधानाध्यापक यज्ञप्रसाद थापाले संस्थाको योगदानको मुक्तकण्ठले प्रशंसा गरे।

कार्यक्रममा संस्थाका सचिव दीपक मित्तलले राउण्ड टेबल नेपाल अन्तर्गतको बिर्तामोड शाखाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गर्दै आएका गतिविधिबारे प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन्।

२०४५ सालमा स्थापित यस विद्यालयमा हाल कक्षा ८ सम्म पढाइ हुन्छ, जहाँ १५० विद्यार्थी र १२ जना शिक्षक-कर्मचारी छन्। यहाँ अध्ययनरत अधिकांश विद्यार्थी सीमान्तकृत राजवंशी र मुस्लिम समुदायका हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, मंगलबार ००:००  १० : ०१ बजे