बिर्तामोड- झापामा मानव र हात्ती बीचको द्वन्द्व डरलाग्दो रूपमा बढेको छ । जलथल, निचाझोडा र आसपासका सामुदायिक वनमा बसोबास गर्दै आएका रैथाने हात्तीको आक्रमणबाट स्थानीय बासिन्दाको ज्यान जोखिममा परेको छ ।
डिभिजन वन कार्यालय झापाको तथ्याङ्क अनुसार, चालू आर्थिक वर्ष २०८१-८२ मा मात्रै हात्तीको आक्रमणमा परी ६ जनाले ज्यान गुमाएका छन् । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सोही अवधिमा सात जना गम्भीर घाइते भएका छन् ।
यो तथ्याङ्कले जङ्गल छेउका बस्तीमा त्रास र असुरक्षा देखिएको छ । स्थानीय बासिन्दाका लागि जङ्गल जीविकोपार्जनको अभिन्न हिस्सा हो । निगुरो र च्याउ टिप्न, गाईवस्तुका लागि घाँस र घरका लागि दाउरा खोज्न जङ्गल पस्नु उनीहरूको दैनिकी हो ।
हात्तीको डरले दैनिकी चलाउन मुस्किल परेको झापा जलथलका डीआर चापागाईले बताए । बिहान बेलुका घरबाहिर निस्कनै डर लाग्छ, कतिबेला कहाँबाट हात्ती आइपुग्छ पत्तै हुँदैन, चापागाईले भने ।
मर्निङ वाकमा निस्किनेहरु पनि हात्तीको निसानामा पर्ने गरेका छन् । आइतवार बिहान मात्रै मर्निङ वाकमा निस्किएका दमकका दुई महिला हात्तीको आक्रमणमा घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ ।
मानव हात्ती द्वन्द्वको चपेटामा परेर हात्तीले पनि ज्यान गुमाइरहेका छन् । वन कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा चारवटा हात्ती मृत अवस्थामा फेला परेका छन् । हात्तीको मृत्युको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
यसले एकातिर मानव सुरक्षाको प्रश्न उठाएको छ भने अर्कोतिर सङ्कटापन्न वन्यजन्तुको संरक्षणमा गम्भीर चुनौती थपेको छ । विज्ञका अनुसार वन क्षेत्रको अतिक्रमण, हात्तीको प्राकृतिक बासस्थान र जैविक मार्ग साँघुरिँदै जानु द्वन्द्वको प्रमुख कारण हो ।
डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले द्वन्द्व न्यूनीकरणका लागि स्थानीय समुदायसँग मिलेर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको बताए ।
तर, यतिले मात्रै पर्याप्त देखिँदैन । स्थानीयले जोखिमपूर्ण क्षेत्रमा तारबार, पूर्व सूचना प्रणालीको व्यवस्था र प्रभावित परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको माग गरेका छन् ।



















