१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

आगलागीमा हल्दीवारीका ओलीकाे मृत्यु



बिर्तामाेड-आगलागीमा घाइते भएका झापाको हल्दीवारीका पुण्यप्रसाद ओलीकाे मृत्यु भएको छ । साउन ६ गते घरमा भएको आगलागीमा ६० वर्षीय ओली घाइते भएका थिए ।

उपचारकाे क्रममा कीर्तिपुरको बर्न अस्पतालमा शनिवार मध्यान्ह ओलीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत साउन ६ गते बिहान करिब ८:४० बजे आफ्नै ३ तले पक्की घरको दोस्रो तल्लामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्याँस सिलिन्डरबाट अचानक आगो सल्केको थियो ।

आगलागी सुरु भएलगत्तै घरधनी ओलीसहित परिवारका ४ जना सदस्यले आगो निभाउने प्रयास गरेका थिए । सोही क्रममा उनीहरू घाइते भएका थिए ।

आगलागीबाट घाइते भएका सबैलाई तत्कालै उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल लगिएको थियो । गम्भीर घाइते पुण्यप्रसादलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा रेफर गरिएको थियो ।

सोही आगलागीमा परी घाइते भएकी ५९ वर्षीया गोमादेवी ओली र ३३ वर्षीय सन्तोष ओली भने उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । आगलागीबाट घरको भान्सा कोठामा क्षति पुगेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, शनिबार ००:००  ६ : ५५ बजे