१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

युवा संघमा महासचिवको कारबाहीलाई लुम्बिनी अध्यक्षको चुनौती



काठमाडौँ-नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघभित्रको आन्तरिक कलह सतहमा आएको छ । संगठनका महासचिव महेश चौलागाईंले लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेललाई पदमुक्त गरेपछि खरेलले उक्त निर्णयलाई ठाडै अस्वीकार गरेका छन्, जसले संगठनभित्र शक्ति संघर्षको स्पष्ट संकेत गरेको छ ।

विद्या भण्डारीलाई भावी अध्यक्ष बनाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान चलाउँदै आएका खरेललाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरिएको हो । महासचिव चौलागाईंले पठाएको पत्रमा पोखरा महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यलाई अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । तर, यो कारबाही प्रक्रियामाथि नै गम्भीर प्रश्न उठेको छ ।

साउन ९ गतेको पदाधिकारी बैठकले निलम्बनको निर्णय गरेको पत्रमा उल्लेख भए पनि सोही प्यानलका एक पदाधिकारीले उक्त दिन कुनै बैठक नै नबसेको दाबी गरेका छन् । “बैठक बसेको भए मलाई थाहा हुन्थ्यो, यो सरासर गलत प्रक्रिया हो,” नाम उल्लेख नगर्ने शर्तमा उनले भने ।

यता, निलम्बनमा परेका अध्यक्ष खरेलले यसलाई फरक मत राखेबापत गरिएको प्रतिशोधपूर्ण कारबाहीको संज्ञा दिएका छन् । उनले भने, “ममाथि लगाइएका आरोपहरू मनगढन्ते र पूर्वाग्रही छन् । यो निलम्बन मलाई स्वीकार्य छैन र म संगठनको कामलाई निरन्तरता दिनेछु ।” खरेलको यो अडानले युवा संघभित्रको विवाद अब केन्द्रीय नेतृत्व र प्रदेश कमिटीबीचको टकरावमा परिणत हुने देखिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, शनिबार ००:००  ९ : ३२ बजे