१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

लम्पी स्किन रोगबाट ४ सय २० पशुको मृत्यु : किसानको गोठ रित्तिने डर



विराटनगर– कोशी प्रदेशका पशुपालक किसानको निदहराम भएको छ । गाईभैँसीमा लाग्ने लम्पी स्किन रोगले महामारीको रूप लिन थालेपछि किसानको गोठ रित्तिने डर बढेको हो । यस वर्ष मात्रै प्रदेशका १० जिल्लामा यो रोगबाट ४ सय २० पशुको मृत्यु भइसकेको छ भने १८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, विराटनगरका अनुसार, यो प्रकोपको सबैभन्दा ठूलो मार झापाका किसानले खेपेका छन्, जहाँ १३ हजारभन्दा बढी पशु सङ्क्रमित भएका छन् । झापापछि मोरङ, इलाम र सुनसरीमा पनि सङ्क्रमण तीव्र गतिमा फैलिएको छ ।

निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार शाहले गर्मी बढेसँगै लामखुट्टे र भुसुनाको टोकाइबाट सर्ने यो रोगको जोखिम ह्वात्तै बढेको बताउनुभयो । उहाँका अनुसार ताप्लेजुङ, पाँचथर, भोजपुर, खोटाङ, धनकुटा र उदयपुरका किसानहरू पनि यो रोगको चपेटामा परेका छन् ।

रोग नियन्त्रणका लागि सरकारी स्तरबाट प्रयास भने जारी छ । हालसम्म प्रभावित जिल्लाहरूमा करिब तीन लाख पशुलाई लम्पी स्किनविरुद्धको निःशुल्क खोप लगाइएको डा. शाहले जानकारी दिनुभयो । यद्यपि, सङ्क्रमणको दर उच्च रहेकाले किसानलाई आफ्नो गोठ सफा राख्न र सङ्क्रमित पशुलाई तुरुन्तै अलग राख्न विज्ञहरूले सुझाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, शनिबार ००:००  ९ : २३ बजे