१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

दमकमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु



दमक-झापाको दमकमा यात्रुबाहक बसको ठक्करबाट शनिवार बिहान एक जना साइकल यात्रीको ज्यान गएको छ । बिहान ६.४५ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका-४ स्थित चियाबगान नजिक दुर्घटना भएको हो ।

उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नम्वर १-०१-००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका दमक-४ धरधरेका ६० वर्षीय सोमबहादुर विक घाइते भएका थिए ।

विकलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा बिहान ७.२८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । दुर्घटनापछि बस र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

बस चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–७ का ४७ वर्षीय राजेन्द्र गौतम रहेका छन् । मृतकको शव दमक अस्पतालमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, शनिबार ००:००  ९ : १० बजे