झापा– बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषलाई अमेरिकामा बसोबास गर्दै आएका एक पूर्व व्यवसायीले आर्थिक सहयोग गरेका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष तथा कोषका संयोजक राजकुमार घिमिरेका अनुसार, लामो समय बिर्तामोडमा व्यवसाय गरेका चुडा आचार्यले अमेरिकाबाट ४० हजार ६९९ रुपैयाँ सहयोग पठाएका हुन् ।
संयोजक घिमिरेले व्यवसायीको हितका लागि स्थापना भएको कोषमा विदेशबाट समेत सहयोग प्राप्त हुनुले लक्ष्य प्राप्तिमा उत्साह थपिएको बताए ।
संघका अध्यक्ष राजु न्यौपानेले व्यवसायीलाई आइपर्ने अकल्पनीय समस्यामा सहयोग गर्न एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने लक्ष्य लिइएको र हालसम्म २२ लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिए ।
अध्यक्ष न्यौपानेले संघले स्थापना गरेको कोषबारे थाहा पाएर अमेरिकाबाट सहयोग गर्ने आचार्य दम्पतीप्रति आभार व्यक्त गरे । संघले सदस्य व्यवसायीलाई आइपर्ने विपद्को समयमा सहयोग पुर्याउने उद्देश्यले उक्त राहत कोष स्थापना गरेको हो ।



















