१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

भुक्तानी नपाएको भन्दै झापाका निर्माण व्यवसायी आन्दोलित



विराटनगर– कोशी प्रदेश सरकारअन्तर्गतका विभिन्न योजनाको काम सम्पन्न गरे पनि भुक्तानी नपाएको भन्दै झापाका निर्माण व्यवसायीले मुख्यमन्त्री र विभागीय मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । पूर्वाधार विकास कार्यालय, झापामार्फत कार्यान्वयन भएका योजनाको रकम रोकिएपछि व्यवसायी आन्दोलित भएका हुन् ।

निर्माण व्यवसायी संघ, झापाका अध्यक्ष रमेश अधिकारीको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । टोलीमा संघका पदाधिकारी तथा पीडित व्यवसायी सहभागी थिए ।

ज्ञापनपत्रमा गत आर्थिक वर्षको असार २४ गतेभित्र कार्यालयमा पेश भएका बिलको भुक्तानी समेत रोकिएको र कतिपय सम्पन्न योजनाको अन्तिम नापजाँच गरी बिल तयार नगरिदिँदा भुक्तानी प्रक्रिया नै अघि बढ्न नसकेको उल्लेख छ । संघका कोषाध्यक्ष यज्ञनिधि भुर्तेलका अनुसार, भुक्तानी रोकिँदा व्यवसायी गम्भीर आर्थिक संकटमा परेका छन् ।

व्यवसायीले भुक्तानीका लागि पटक-पटक सम्बन्धित कार्यालय र मन्त्रालयको ध्यानाकर्षण गराउँदा आश्वासन मात्र पाएको गुनासो गरेका छन् । प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा भुक्तानीको विषयलाई सम्बोधन गर्ने बताए पनि बजेटमा सो कुरा समावेश नगरिएको उनीहरूको भनाइ छ ।

ज्ञापनपत्रमार्फत व्यवसायीले रोकिएको भुक्तानी तत्काल उपलब्ध गराउन माग गरेका छन् । माग पूरा नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शुक्रबार ००:००  ११ : ३१ बजे