झापा-‘म मत माग्न होइन, तपाईंहरूको अमूल्य विश्वास माग्न आएकी हुँ’, यो केवल एउटा चुनावी नारा मात्र होइन, बरु गैरआवासीय नेपाली महासंघ (NRNA) अस्ट्रेलियाको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी लुना सिवाकोटीको प्रतिबद्धता हो ।
सामाजिक सेवाको लामो अनुभव र संस्थागत सुशासनको स्पष्ट दृष्टिकोण बोकेर उनले NRNA अस्ट्रेलियाको आगामी कार्यकालका लागि कोषाध्यक्ष पदमा आफ्नो सशक्त उम्मेदवारी प्रस्तुत गरेकी छन् । उनको आगमनले संस्थामा आर्थिक पारदर्शिता, जवाफदेहिता खोजिरहेका गैरआवासीय नेपाली माझ नयाँ ऊर्जा र आशा सञ्चार गरेको छ ।
कोष भनेको रकम होइन, समुदायको विश्वास हो
आफ्नो उम्मेदवारी घोषणा गर्दै सिवाकोटीले कोषाध्यक्षको भूमिकालाई परम्परागत हिसाबकिताबमा मात्र सीमित नराख्ने अठोट व्यक्त गरेकी छन् । ‘कोष भनेको अंक र कागजको थुप्रो मात्र होइन, यो सिंगो समुदायले हामीमाथि राखेको विश्वासको आधार हो’, सिवाकोटीले स्पीक कर्नरमा भनिन्, ‘त्यो विश्वासको रक्षा गर्नु मेरो पहिलो र अन्तिम कर्तव्य हुनेछ । म NRNA को कोषलाई कागजमा मात्र होइन, हरेक सदस्यको मनमा पारदर्शी बनाउन चाहन्छु ।’

अनुभवले खारिएको नेतृत्व
सिवाकोटीको उम्मेदवारी कुनै खोक्रो आदर्श र आश्वासनमा होइन, उनको कर्मशील विगतमा आधारित छ । सन् २०२३ देखि २०२५ सम्म NRNA न्यू साउथ वेल्सको कार्यसमिति सदस्यको रूपमा उनको सक्रिय भूमिकाले संस्थागत कार्यप्रणालीसँग परिचित गराएको छ । तर, उनको सक्रिय सेवाको जरो त्योभन्दा पनि गहिरो छ ।
झापा जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा क्रियाशील लेखाजोखा केन्द्रको जिल्ला संयोजकको रूपमा उनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाले उनलाई आर्थिक पारदर्शिता र मानवीय संवेदना बीचको सम्बन्ध सिकाएको छ ।
अटिजम भएका बालबालिकाको संरक्षणदेखि महिलाहरूको सीप विकास र सशक्तीकरणसम्मका अभियानमा उनको समर्पणले उनलाई एक कुशल व्यवस्थापक मात्र नभई एक संवेदनशील सामाजिक अभियन्ताको रूपमा स्थापित गरेको छ ।
‘मसँग प्रशासनिक नेतृत्वको अनुभव छ, लेखाजोखा प्रणालीको सूक्ष्म ज्ञान छ र तपाईंहरू सबैलाई समेट्ने भावना छ’, सिवाकोटीले आत्मविश्वासका साथ भनिन् ।

आधुनिक र सदस्य-मैत्री आर्थिक प्रणालीको खाका
सिवाकोटीले कोषाध्यक्ष पदमा निर्वाचित भएपछि लागू गर्ने स्पष्ट र व्यावहारिक योजना अघि सारेकी छन् । संस्थाको हरेक आम्दानी र खर्चलाई डिजिटल प्रणालीमा आबद्ध गरी वास्तविक समयमा पारदर्शी बनाउने उनको पहिलो योजना हो ।
आर्थिक प्रतिवेदनहरू सरल भाषामा सार्वजनिक गरी सबैको पहुँच सुनिश्चित गर्ने काममा पनि उनले आफूलाई प्रस्तुत गर्न चाहेकी छन् । सदस्यहरूले समेत सहजै बुझ्न सक्ने र आफ्नो सुझाव दिन सक्ने बजेट प्रणालीको विकास गर्ने सिवाकोटीको अर्काे उद्देश्य छ ।

‘टीम एकता’ मार्फत सेवाको संकल्प
‘टीम एकता’ को तर्फबाट उम्मेदवारी दिएकी सिवाकोटीले आफ्नो लक्ष्य पद नभई सेवा नै रहेको स्पष्ट पारेकी छन् । ‘मेरा लागि यो पद सत्ता होइन, सेवा नै सबैभन्दा ठूलो विषय हो’, उनले भनिन्, ‘म ठूलो आश्वासन दिन्न, तर, मेरो निष्ठा र कर्मले तपाईंको विश्वासलाई कहिल्यै टुट्न दिँदैन ।’
उनले आफ्नो अभियानलाई सफल बनाउन सम्पूर्ण अस्ट्रेलियावासी नेपाली समुदायको साथ, समर्थन र अमूल्य सुझावको अपेक्षा गरेकी छन् । अन्तमा, सिवाकोटीले भनिन्, ‘विश्वास गर्नुस्, तपाईंको मत केवल मलाई जिताउन मात्र होइन । संस्थागत पारदर्शिता र उत्तरदायित्व निर्वाहका लागि पनि हो ।’




















