झापा-सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । कोषले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, कुल योगदानकर्ता श्रमिकको संख्या झन्डै २४ लाख (२३ लाख ७४ हजार) पुगेको छ, जसमध्ये झन्डै ९ लाख गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै थपिएका हुन् ।
कोषका अनुसार, हालसम्म कुल ८३ अर्ब २५ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ । गत आर्थिक वर्षमा मात्रै २५ अर्ब ३६ करोड रुपैयाँ संकलन भएको थियो ।
कोषमा आबद्ध हुनेहरूमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको संख्या सबैभन्दा धेरै (१७ लाख ७१ हजार) छ भने औपचारिक क्षेत्रका ६ लाखभन्दा बढी श्रमिक सूचीकृत भएका छन् ।
यसैगरी, कोषले योगदानकर्तालाई प्रदान गर्ने सुविधा भुक्तानीमा पनि सक्रियता बढाएको छ । गत आर्थिक वर्षमा मात्र विभिन्न योजनाअन्तर्गत ५ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
स्थापनादेखि हालसम्म कोषले आफ्ना योगदानकर्तालाई विभिन्न दाबीबापत कुल १५ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ ।














