बिर्तामोड– प्रेस सेन्टर झापाले पत्रकार उद्धव पुरीलाई डी काैडिन्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको छ । बुधबार बिर्तामोडमा आयोजित कार्यक्रमका बीच पत्रकार पुरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार पुरी यतिबेला शब्दपत्र डटकमका सम्पादक छन् । प्रेस सेन्टर झापाका पूर्व सचिव समेत रहेका पुरीलाई नेकपा माओवादी केन्द्र झापाका इन्चार्ज रन्जित तामाङले सम्मानपत्र प्रदान गरे ।
जनपक्षीय पत्रकार देवकुमार आचार्य अर्थात् डी कौडिन्यको स्मृतिमा सेन्टरले पुरस्कार स्थापना गरी हरेक वर्ष प्रदान गर्दै आएको छ । यसपटक पत्रकार पुरीलाई ४२ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो ।
२०५९ साल साउन ७ गते तत्कालीन शाही नेपाली सेनाले आचार्यलाई मारेको थियो । शिक्षण अभ्यास, साहित्य लेखन र पत्रकारिता क्षेत्रमा सक्रिय रहेका आचार्य संघर्षशील योद्धा थिए ।
प्रेस सेन्टरले यसअघि अग्रज पत्रकारहरु चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, बिमल लामिछाने, जीएन शर्मा, केशव भट्टराई, दीपिन राई, राजु पाठक, दीपक अधिकारी, लीलाराज झापाली, डिकेश लामा र झुलन रेग्मीलाई पुरस्कार वितरण गरिसकेको छ ।
सेन्टरले अक्षय कोषमा आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा प्रेस सेन्टरका प्रदेश सदस्य आइपी भट्टराई, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज रञ्जित तामाङ, माओवादी कोसी प्रदेशका उपाध्यक्ष विजय साम्पाङ, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव दिपिन राई, देवकुमार आचार्यकी धर्मपत्नी यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, जनवादी पत्रकार मञ्च झापा संयोजक प्रविण अधिकारी, मिडिया नेपालका झापा अध्यक्ष रञ्जित प्रसाईं लगायत शुभकामना मन्तव्य राखेका थिए ।
प्रेस सेन्टरका केन्द्रिय सदस्य एवम् नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले डि कौडिन्यको जीवनीमाथी चर्चा गरेका थिए । प्रेस सेन्टर नेपालका अध्यक्ष पुष्प खँड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेका थिए भने प्रकाश उप्रेती र राजन साम्पाङले सञ्चालन गरेका थिए ।



















