१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

सातवटा विषयमा झापा प्रहरीको तुलनात्मक तथ्याङ्क : लागूऔषध कारोबारी र फरार अभियुक्त मुख्य टार्गेटमा



झापा-जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न सातवटा विषयमा तुलनात्मक तथ्याङ्क सार्वजनिक गरेको छ । अपराधसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका विषयमा प्रहरीले तथ्याङ्क सार्वजनिक गरेको हो ।

प्रहरीले सञ्चारमाध्यमलाई पठाएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा कर्तव्य ज्यानका कारण १५ जनाको मृत्यु भएको छ । ती घटनामा २५ जना पक्राउ परेका छन् ।

अघिल्लो आर्थिक वर्षमा २२ जना मारिँदा ३७ जना पक्राउ परेका थिए । प्रहरीले आर्थिक वर्ष २०८१-८२ मा लागूऔषध सम्बन्धी मुद्दामा ५५९ जनालाई पक्राउ गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ४६२ जना समातिएका थिए । लागूपदार्थ ओसारपसार गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

झापा प्रहरीका प्रमुख एसपी राजन लिम्वूले लागूऔषध नियन्त्रणविरुद्ध प्रहरी कार्वाही आक्रामक भइरहेको बताए । उनले प्राप्त सूचनाका आधारमा तत्काल प्रहरी परिचालन हुने गरेको बताउँदै अदालतको फैसला कार्यान्वयनका लागि परिचालित टोलीले पनि उपलब्धि हासिल गरिरहेको जानकारी दिए ।

प्रहरीले एक वर्षको अवधिमा दुई किलो ८८२ ग्राम ४४७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । अघिल्लो वर्षको तुलनामा ७०८ ग्राम २५२ मिलिग्राम भन्दाबढी ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको हो ।

प्रहरीले गत आर्थिक वर्षमा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । १६५१ किलो ७२ ग्राम २७० मिलिग्राम गाँजा प्रहरीले बरामद गरेको हो । अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा जम्मा २८ किलो ६०२ ग्राम १०० मिलिग्राम गाँजा बरामद भएको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी बिजय श्रेष्ठ अपराधका घटना रोक्न प्रहरी कार्वाही तीव्र पारिएको बताउँछन् । यसैसाता ठूलो परिमाणमा प्रतिवन्धित औषधिजन्य लागूऔषध नियन्त्रणमा लिएका डीएसपी श्रेष्ठले समुदायको सहयोग पनि उत्तिकै आवश्यक भएको बताए ।

प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दामा गत आर्थिक वर्षमा ९५ जना पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षमा १०७ वटा मुद्दा दर्ता हुँदा १०९ जना पक्राउ परेका थिए । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा मुद्दा दर्ताको सङ्ख्या २ दशमलव ८ प्रतिशतले घटेको छ ।

सवारी ज्यानसम्बन्धी सार्वजनिक प्रहरी तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ९६ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा सवारी दुर्घटनामा परी १०७ जनाको ज्यान गएको थियो । १० दशमलव २८ प्रतिशतले सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्षमा ३२७ जनाले आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ३३४ जनाले आत्महत्या गरेका थिए । तुलनात्मक अध्ययन गर्दा आत्महत्याका घटनामा दुई प्रतिशतले कमी आएको छ ।

प्रहरीले गत आर्थिक वर्षमा फरार अभियुक्तलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको थियो । अदालतको फैसला कार्यान्वयनमा खटिएको प्रहरी टोलीले ५३४ जना अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेश गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ४२७ जना पक्राउ परेका थिए ।तुलनात्मक रूपमा फैसला कार्यान्वयनतर्फ २५ प्रतिशतले वृद्धि भएको प्रहरीले जनाएको हो । प्रहरीले अभियुक्तबाट ७ करोड २७ लाख २४ हजार ८२१ रूपैयाँ जरिवाना असुल उपर गरेको छ ।

भन्सार चोरी पैठारी नियन्त्रणमा समेत प्रहरीले आफ्नो सक्रियता बढाउँदै लगेको छ । प्राप्त तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा २५ वटा सवारी साधन नियन्त्रणमा लिइएका छन् ।

अघिल्लो आर्थिक वर्षमा चोरी पैठारीमा प्रयोग गरिएका २९ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको थियो ।चोरी पैठारी नियन्त्रणका क्रममा प्रहरीले ६ करोड ९६ लाख २५ हजार ५५९ राजस्व संकलन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्ष २०८०-८१ को तुलनामा ३३ दशमलव ७८ प्रतिशतले बढी हो । प्रहरीले गत आर्थिक वर्षमा ८४९ क्युफिट काठ बरामद गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ५४९ दशमलव ४१ क्युफिट काठ बरामद भएको थियो । प्रहरीले तस्करीमा प्रयोग भएका तीनवटा सवारी साधन सहित दुईजना मानिसलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार ००:००  ३ : ०३ बजे