२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

दूधे रंगशाला उद्घाटनको संघारमा



शिवसताक्षी-झापाको शिवसताक्षी नगरपालिकाले आफ्नो गौरवको आयोजनाको रूपमा निर्माण गरिरहेको ‘दुधे रंगशाला’ उद्घाटनको संघारमा पुगेको छ ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको यस रंगशालामा आगामी कार्तिक १५ गतेदेखि ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गरी औपचारिक उद्घाटन गरिने नगरपालिकाले जनाएको छ ।

रंगशालाको प्यारापिट निर्माण कार्य लगभग सकिएको छ भने मैदानलाई खेलका लागि तयार पार्न घाँस काट्ने र सम्याउने काम तीव्र गतिमा भइरहेको छ । नगरपालिकाले २०७४ सालमा गुरुयोजना बनाएर रंगशालाको निर्माण सुरु गरेको थियो ।

रंगशाला निर्माणमा हालसम्म शिवसताक्षी नगरपालिकाले २ करोड ४६ लाख रुपैयाँ खर्च गरिसकेको छ । यसैगरी, संघीय सरकारले रंगशालाको घेराबार र प्रवेशद्वार निर्माणका लागि १ करोड १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

निर्माण सम्पन्न भएपछि रंगशालामा एकैपटक २५ हजार दर्शकले खेल हेर्न सक्नेछन् भने हाल निर्माण भएको प्यारापिटमा करिब १,५०० दर्शक अट्ने क्षमता छ ।

विगतदेखि वर्तमानसम्मको यात्रा

यो मैदानको खेलकुद इतिहास पुरानो छ । खेल मैदानको अभाव भएका बेला २०५२ सालमा स्थानीय युवाहरूले झाडी फाँडेर मैदान तयार पारेका थिए । सोही वर्ष यहाँ पहिलो पटक ‘भवानी स्मृति गोल्डकप’ आयोजना गरिएको तत्कालीन आयोजक समितिका अध्यक्ष विरबल जबेगुले स्मरण गरे ।

रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष भीम लिवाङका अनुसार, सुरुमा संघीय सरकारबाट प्राप्त ४० लाख रुपैयाँले घेराबारको काम थालिएको थियो ।

करिब ६ बिघा १५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो रंगशालामा फुटबलसँगै भविष्यमा एथलेटिक्स र भलिबल कोर्ट पनि निर्माण गर्ने लक्ष्य छ ।

उद्घाटन र प्रतियोगिताको तयारी

नगर प्रमुख मेघाहाङ थोप्राले नगरको प्रतिष्ठित आयोजनाको उद्घाटन महिला गोल्डकप जस्तो महत्त्वपूर्ण प्रतियोगिताबाट गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार, प्रतियोगिता सञ्चालनका लागि नगरपालिका र वडा कार्यालयहरूबाट बजेट व्यवस्थापन गरिएको छ भने बाँकी खर्च आयोजक समितिले जुटाउनेछ ।

यो रंगशाला झापाका स्थानीय तहहरूमध्येकै व्यवस्थित र सुविधायुक्त बन्ने दाबी गरिएको छ । शिवसताक्षी नगरपालिकाले अन्य विकास निर्माणसँगै खेलकुद पूर्वाधारमा पनि उल्लेख्य लगानी गर्दै आएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, आइतबार ००:००  २ : १७ बजे