काठमाडौँ– करिब नौ वर्षदेखि स्थगित रहेको नेपाल र भारतबीचको गृह सचिवस्तरीय सुरक्षा बैठक यसै साता बस्ने भएको छ । गृहमन्त्री रमेश लेखकले संघीय संसद्, राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिलाई उक्त जानकारी दिनुभएको हो ।
बैठकको मिति निश्चित भइनसके पनि तयारी अन्तिम चरणमा पुगेको मन्त्री लेखकले बताउनु भयो । उहाँका अनुसार, बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, सीमा समस्या र दुई देशबीचको आवतजावतलाई व्यवस्थित बनाउने जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुनेछ ।
सीमासम्बन्धी अपराध नियन्त्रणका लागि यो संयन्त्र महत्त्वपूर्ण मानिन्छ । सीमांकनसम्बन्धी विषयका लागि छुट्टै संयन्त्र भए पनि सीमा क्षेत्रको शान्ति सुरक्षा र अपराध रोकथामका लागि गृहसचिवस्तरीय बैठकले नै मुख्य भूमिका खेल्ने गरेको मन्त्री लेखकको भनाइ छ।
बैठकमा नेपाली पक्षको नेतृत्व गृह सचिवले गर्नेछन् भने टोलीमा परराष्ट्र मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नापी विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहनेछ ।



















