झापा-मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनमा वृद्धि गरे पनि निर्धारित लक्ष्य भने पूरा गर्न सकेन । कार्यालयले उक्त आर्थिक वर्षमा १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व असुली गरेको छ, जुन लक्ष्यको ९१.८६ प्रतिशत मात्र हो ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार, यो संकलन रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को १४ अर्ब २३ करोड ५२ लाख ६० हजारको तुलनामा १ अर्ब ६९ करोड ५९ लाख ६ हजारले बढी हो ।
आर्थिक वर्ष २०७९/८० मा कार्यालयले रु. १४ अर्ब ४ करोड ५ लाख ९२ हजार राजस्व उठाएको थियो । कार्यालयले आव २०८१/८२ का लागि १७ अर्ब ३४ करोड ४६ लाख २५ हजारको लक्ष्य पाएको थियो ।
बढ्दो चोरी तस्करी, भन्सार र सुरक्षा निकायबीच समन्वयको कमी तथा आपसी अविश्वास जस्ता कारणले लक्ष्य प्राप्तिमा बाधा पुगेको विश्लेषण गरिएको छ ।
कतिपय अवस्थामा कर्मचारीको मिलेमतोमा मालवाहक ट्रक छुट्दा पनि राजस्व प्रभावित भएको आँकलन छ । यो नाकाबाट पेट्रोलियम पदार्थ, सवारीसाधन, तरकारीजस्ता वस्तु आयात तथा अलैंची, चिया, प्लाइउड, अदुवा जस्ता नेपाली उत्पादन निर्यात हुने गर्दछन् ।



















