काठमाडाैँ– देशमा रोजगारीका अवसर सीमित हुँदा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्याले नयाँ कीर्तिमान बनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ३९ हजार २६६ जना नेपालीले रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
यो संख्याले देशको युवा जनशक्ति कुन हदसम्म विदेश पलायन भइरहेको छ भन्ने भयावह तस्बिर देखाउँछ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले श्रम स्वीकृतिको प्रक्रियालाई छिटो र सरल बनाइएको दाबी गरे ।
वैदेशिक रोजगार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार, विगत पाँच वर्षमा श्रम स्वीकृति लिने नेपालीको कुल संख्या ३५ लाख १६ हजार नाघेको छ ।
गत वर्ष विदेशिनेमा ७ लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिला रहेका छन् । नेपाली युवाहरूको मुख्य गन्तव्य खाडी मुलुक र मलेसिया नै देखिएको छ ।
सबैभन्दा बढी श्रमिक संयुक्त अरब इमिरेट्स (युएई) गएका छन् भने त्यसपछि साउदी अरेबिया, कतार, मलेसिया र कुवेत रहेका छन् ।
युरोपेली देशहरू रोमानिया र क्रोएसिया तथा एसियाका जापान र कोरिया पनि नेपालीका लागि आकर्षक गन्तव्य बनेका छन् ।



















