बिर्तामोड-इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडको आवासीय क्षेत्रमा छापा मारी अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा प्रतिबन्धित औषधिजन्य लागुऔषध बरामद गरेको छ ।
औषधि पसलको आवरणमा सञ्चालित यो अवैध कारोबारको पर्दाफास गर्दै प्रहरीले एकजनालाई पक्राउ गरेको छ भने मुख्य सञ्चालक फरार रहेका छन् ।
प्रहरीले बिहीबार बिर्तामोड–५, मंगलदीप टोलस्थित मीनकुमार संग्रौलाको घरमा भाडामा लिइएको गोदाममा छापा मारेको थियो ।
विशेष सुराकीको आधारमा गरिएको अपरेसनमा प्रहरीले अर्जुनधारा-६, दासपुलका २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको हो। घिमिरे उक्त गोदाममा कर्मचारीका रुपमा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनको साथबाट एउटा मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद गरिएको छ । बिर्तामोडका डीएसपी विजय श्रेष्ठका अनुसार, बरामद गरिएको प्रतिबन्धित औषधिको कुल परिमाण झन्डै सवा दुई लाख ट्याब्लेट तथा क्याप्सुल रहेको छ।
बरामद भएका लागुऔषधजन्य औषधिहरूमा ट्रामाडोल हाइड्रोक्लोराइड एक लाख तीन हजार ८०० क्याप्सुल, सोही नामको इन्जेक्सन एक हजार ८७० एम्पुल, डाइसाइक्लोमाइन एचसिएल ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल आठ हजार ९०० ट्याब्लेट, टर्मिपलि किट्स सात हजार ६५० ट्याब्लेट र ट्रामाडोल एन्ड एसिटामिनोफेन चार हजार ५० ट्याब्लेट रहेका छन् ।
यो अवैध गोदाम अर्जुनधारा–११, नारायणचोकस्थित सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेलले सञ्चालन गरेको अनुसन्धानबाट खुलेको छ । खरेलले आवासीय घरका दुईवटा कोठा भाडामा लिएर लागुऔषधको भण्डारण तथा वितरण सञ्जाल चलाइरहेका थिए ।
प्रहरीले उक्त गोदाम सिल गरी थप अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभागलाई खबर गरिसकेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले यी प्रतिबन्धित औषधिहरू काठमाडौंसम्म तस्करी हुने गरेको देखाएको छ ।
प्रहरीले मुख्य अभियुक्त खरेलको खोजीलाई तीव्रता दिएको छ। यस घटनाले औषधि व्यवसायको आडमा कसरी संगठित रुपमा लागुऔषधको कारोबार फैलिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको छ।



















