झापा-जिल्ला प्रहरी कार्यालय, झापाले फैसला कार्यान्वयन अभियानमा ऐतिहासिक सफलता हात पारेको छ । चालू आर्थिक वर्ष २०८१/८२ मा प्रहरीले विभिन्न गम्भीर अपराधमा संलग्न भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको हो ।
यो अभियानबाट राज्यले २४८ वर्षभन्दा बढीको कैद सजाय र ७ करोड २७ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरेको छ, जसले ‘कानूनबाट कोही पनि उम्कन सक्दैन’ भन्ने सन्देशलाई पुनः स्थापित गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी युनिटबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार रहेका प्रतिवादीको खोजी कार्यलाई तीव्रता दिएको थियो ।
पक्राउ पर्नेमा ४६३ जना पुरुष, ७० जना महिला र १ जना यौनिक अल्पसङ्ख्यक रहेका छन् । पक्राउ परेका सबैलाई झापा जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
अदालतको आदेशअनुसार कैद भुक्तान गर्न बाँकी रहेकालाई कारागार चलान गरिएको छ भने जरिवाना मात्र तोकिएकाबाट उक्त रकम असुल गरी लगत कट्टा गरेर छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीको यो अभियानले वर्षौंदेखि फरार रहेका केही ‘ठूला माछा’ लाई समेत जालमा पार्न सफल भएको छ । जसअनुसार, जबरजस्ती करणी तथा हाडनाता करणी जस्तो जघन्य अपराधमा सर्वोच्च अदालतबाटै १० वर्ष कैद सजाय पाएर फरार रहेका भद्रपुर-८ का ४८ वर्षीय खेमराज पोखरेल प्रहरीको फन्दामा परेका छन् ।
करिब ९ वर्षअघि उच्च अदालत, विराटनगरको इलाम इजलासले जबरजस्ती करणी र चोरी मुद्दामा १० वर्ष कैद तोकेका मेचीनगर-७ का ३२ वर्षीय प्रदीप राईलाई पनि प्रहरीले पक्राउ गरी कानूनी कठघरामा ल्याएको छ ।
यो अभियानले आर्थिक अपराधमा संलग्नलाई पनि छोडेको छैन । उच्च अदालत, पाटनले राजस्व चुहावट मुद्दामा १ वर्षभन्दा बढी कैद र २ करोड ८४ लाखभन्दा बढी जरिवाना तोकेका बिर्तामोड-८ का ३० वर्षीय अमिर लगुन विश्वकर्मा पनि पक्राउ पर्नेको सूचीमा छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाले फैसला कार्यान्वयन अभियानलाई निरन्तरता दिने र फरार रहेका अन्य प्रतिवादीहरूलाई पनि छिट्टै पक्राउ गरी कानूनी कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।



















