१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

सेवा प्रवाहमा झापा प्रशासनको डिजिटल फड्को : अब क्यूआर कोडबाटै गुनासो र जानकारी



झापा– जिल्ला प्रशासन कार्यालय, झापाले आफ्नो सेवा प्रवाहलाई आधुनिक र प्रविधिमैत्री बनाउने प्रारम्भिक प्रयास सुरु गरेको छ ।

सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै कार्यालयले तीनवटा विशेष क्यूआर कोड सञ्चालनमा ल्याएको हो । झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार, यो प्रविधिको मुख्य उद्देश्य सेवा प्रवाहलाई थप स्वच्छ, पारदर्शी र नागरिकमैत्री बनाउनु हो ।

अब सेवाग्राहीले आफ्नो मोबाइलबाटै क्यूआर कोड स्क्यान गरेर आवश्यक जानकारी लिन, गुनासो दर्ता गर्न र सुझाव दिन सक्नेछन् ।

कार्यालयले सार्वजनिक गरेका तीन क्यूआर कोडमध्ये एउटा नागरिक बडापत्रको डिजिटल संस्करणको रूपमा रहेको छ, जसले कार्यालयबाट प्रदान गरिने सेवाहरूको विस्तृत जानकारी दिन्छ ।

अर्को क्यूआर कोडमार्फत सेवाग्राहीले सिधै आफ्नो गुनासो वा सुझाव दर्ता गराउन सक्नेछन् भने तेस्रो कोड राष्ट्रिय परिचयपत्रसम्बन्धी जानकारीका लागि छुट्याइएको छ ।

यी सबै सुविधा कार्यालयको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने प्रजिअ अधिकारीले बताए । तीनवटै क्यूआर कोड प्रशासन कार्यालयको वेबसाइटमा राखिएको छ ।

यो प्रविधिले नागरिक र प्रशासनबीचको दूरी घटाउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार ००:००  ९ : ५२ बजे