७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

सरकारमा आउन कांग्रेस-एमालेको प्रस्ताव, जसपाले खोज्यो ‘प्याकेज’मा सहमति



काठमाडौँ-प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले जनता समाजवादी पार्टी जसपा नेपाललाई सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव गरेका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सत्ता गठबन्धनले विगतका त्रुटिहरू सच्याउन तयार रहेको भन्दै सहकार्यका लागि आग्रह गरेको हो ।

जसपा नेपालका नेता राजकिशोर यादवका अनुसार, बैठकमा सत्तापक्षले समर्थन फिर्ता लिनुको कारणबारे चासो राख्दै आगामी दिनमा पुराना कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता जनाएको थियो ।

जवाफमा जसपाका नेताहरूले सरकारले आफ्ना प्रतिबद्धता पूरा नगरेको, गठबन्धनको निर्णय प्रक्रियाबाट आफूहरूलाई बाहिर राखेको र बजेट वितरणमा मधेसलाई अन्याय गरेको गुनासो पोखेका थिए ।

यादवले भने, ‘कांग्रेस-एमाले मिलेर निर्णय गर्ने र हामीलाई जानकारी मात्र दिने काम भयो, यस्तो शैलीमा सहकार्य हुन सक्दैन ।’ अब पुनः सहकार्य गर्नका लागि जसपाले ‘प्याकेज’मा सहमति हुनुपर्ने शर्त अघि सारेको छ ।

उसको मागमा संघदेखि प्रदेशसम्मका समस्या समाधान, भूमिसम्बन्धी विधेयकमा आफ्ना चासो सम्बोधन र सत्ता गठबन्धनका हरेक मुख्य निर्णयमा आफ्नो अपनत्व सुनिश्चित हुनुपर्ने जस्ता विषयहरू समावेश छन् ।

यी शर्तहरूमा सहमति भए मात्र सरकारमा जानेबारे सोच्न सकिने जसपाको अडान छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार ००:००  ७ : ३१ बजे